आर्थिक संकट झेल्दै गुरुकुल

RSS
117
Shares

कर्णाली । गुरुकुल शिक्षा पद्धति लोप भइरहेका बेला विसं २०७२ मा पश्चिम सुर्खेतको बाबियाचौरमा स्थापना भयो, शिवधाम गुरुकूल विद्यालय ।

स्थापनाकालदेखि नै मन्दिरलाई प्राप्त दान–दक्षिणा र गाउँलेबाट मानापाथी उठाएर सञ्चालनमा ल्याइएको गुरुकुललाई पछिल्ला वर्ष पञ्चपुरी नगरपालिकाले केही रकम प्रदान गर्दै आएको छ । त्यो रकम पर्याप्त नभएको गुरुकुलको गुनासो छ ।

पञ्चपुरी–५ स्थित शिवधाम गुरुकुल विद्यालयका प्रधानाध्यापक वासुदेव शर्माले गुरुकुल सञ्चालनका लागि बालीपिच्छे प्रतिघर एक÷एक पाथी अन्नबाली सङ्कलन गर्ने गरिएको बताए । उनका अनुसार नगरपालिकाले वार्षिक दुई लाख ५० हजार उपलब्ध गराउँदै आएको छ । गुरुकुलमा ७ कक्षासम्म पढाइ हुन्छ । अछामका ११, कैलालीका चार, सुर्खेतका २० गरी ३५ विद्यार्थी अध्ययनरत छन् भने सात अस्थायी शिक्षकले गुरुकुल धानिरहेका छन् । “शिक्षकलाई तलब खुवाउनै समस्या छ, समुदायको सहयोगबाट स्कुल चलेको छ”, प्रधानाध्यापक शर्माले भने, “स्थायी दरबन्दी नहुँदा शिक्षकले मासिक रु पाँच हजार तलबमा पढाउनुपरेको छ ।”

गुरुकुलका शिक्षकलाई तलबमात्र अपुग छैन्, विद्यार्थीको पोशाक टोपी, गम्छा, धोतीदेखि गाँसबास खर्च जुटाउनसमेत मुस्किल छ । त्यस्तै भौतिक पूर्वाधारको कमी छ । पाँच मात्रै कक्षाकोठा हुँदा वृद्धाश्रममा कक्षा सञ्चालन गर्ने गरिएको छ । पञ्चपुरीका वडा नं ३, ५, ६, ८ र ९ वडाबाट सङ्कलित खाद्यान्नबाट विद्यार्थीलाई खानाको व्यवस्था मिलाइएको छ ।

संस्कृत (शास्त्री), धार्मिक ग्रन्थ, कर्मकाण्ड–वेद र अनिवार्यसहित सात विषय पढाइ हुन्छ । संस्कृतमा शास्त्री, आचार्य उपाधिप्राप्त गरेपछि पुरोहित, ज्योतिषीका लागि योग्य मानिन्छ । शिक्षक ताराप्रसाद उपाध्यायले गुरुकुल सबै जातिका लागि खुला भए पनि हाल ब्राह्मण र क्षेत्री समुदायका बालबालिकामात्र अध्ययनरत रहेको बताउनुभयो । सरकारले गुरुकुल शिक्षा पद्धतिको आधुनिक विकास र विस्तारमा आवश्यक चासो नदिएको उहाँको दुखेसो छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?