कर्मचारी सञ्चयकोष : सूचना प्रविधिमा फड्को मार्दै

लोकपथ
533
Shares

सुदूरपश्चिम । कर्मचारी सञ्चयकोष धनगढी शाखाले सेवा प्रवाहलाई अझ बढी प्रभावकारी र प्रविधिमैत्री बनाउने रणनीति लिएको छ ।

कोषको ६०औँ वार्षिकोत्सव मनाउन आज धनगढीमा आयोजित समारोहमा कार्यालय प्रमुख राजेन्द्रविक्रम केसीले सेवा प्रवाहलाई प्रविधिमैत्रीसहित प्रभावकारी बनाउँदै सेवाग्राहीको सन्तुष्टि अभिवृद्धि गर्ने रणनीति लिइएको बताए ।

“सहजरूपमा सेवा प्रवाहका लागि कोषले नवीनतम प्रविधिमा जोड दिइरहेको छ”, केसीले भने, “हालको सेवा तथा सुविधालाई थप परिष्कृत र दिगो बनाउने दिशामा कोषको आगामी योजना केन्द्रित हुनेछन् ।”

कोषले भावी योजना तय गर्दै प्रविधिमा आधारित सेवामा जोड दिने जनाएको छ । कोषले ‘केवाइसी’ अद्यावधिक गरेका सञ्चयकर्ताले अनलाइनमार्फत विशेष सापटी लिनसक्ने र सबै प्रकारका सापटीको साँवा तथा ब्याज आफ्नो बैंक खाताबाट सोझै सञ्चयकोषमा तिर्नसक्ने व्यवस्था गत वर्षदेखि सुरु गरिसकेको छ ।

कोषबाट कर्जा लिएका सञ्चयकर्ताको जग्गा रोक्का फुकुवाको कार्य आउने असोजदेखि अनलाइनमार्फत गर्न लागिएको छ । यो सेवासँगै रोक्का फुकुवा र धितो पासका लागि सञ्चयकर्ता मालपोत जानुपर्ने बाध्यता हट्नेछ ।

आजदेखि घर खरिद कर्जालाई परिमार्जन गर्दै ‘घरजग्गा खरिद कार्यक्रम’ सुरु गरिएको छ । महालेखा नियन्त्रक कार्यालयसँगको सहकार्यमा कोषले विद्युतीय प्रणालीमार्फत फाँटबारी सङ्कलनलाई निरन्तरता दिइरहेको छ ।

यस्तै सङ्घ र प्रदेश कार्यालयका स्थायी कर्मचारीको तलबी विवरण तयार गर्दा नै अनिवार्यरूपमा कोषको परिचयपत्र नम्बरका आधारमा रुजु गरी सञ्चयकोष रकम पठाउन सकिने व्यवस्था गरिएको छ ।

डिजिटल परिचयपत्रको सुरुआत, आधुनिक कल सेन्टर सञ्चालन, रियलटाइम रिकन्सिलियसन, हरेक कारोबारको एसएमएस जानकारी दिने व्यवस्था जस्ता कार्य भइरहेको जनाइएको छ ।

प्रविधिप्रतिको बढ्दो निर्भरताले वित्तीय प्रणालीमा जोखिमसमेत बढेकाले कोषले अत्याधुनिक डाटा सेन्टर स्थापना गरेको कार्यालय प्रमुख केसीले बताए । चार खर्ब ४४ अर्ब रुपैयाँभन्दा बढी स्रोत रहेको कोषले मुलुकको आर्थिक तथा पूर्वाधार विकासमा रकम परिचालन गरी सोको उच्चतम प्रतिफलबाट सञ्चयकर्ता लाभान्वित भइरहेको जनाइएको छ ।

सरकारी कर्मचारीका लागि लागू भएको योगदानमा आधारित निवृत्तभरण (पेन्सन) फण्डको व्यवस्थापनसमेत कोषमार्फत हुँदै आइरहेको छ । कोषले शाखा कार्यालयमार्फत सञ्चयकर्तालाई सहुलियत दरमा विशेष सापटी, घरजग्गा खरिद तथा निर्माण सापटी, घर मर्मत सापटी, शैक्षिक सापटीलगायत कर्जा प्रदान गरिरहेको छ ।

सञ्चयकर्ताको सञ्चयकोष तथा निवृत्तिभरण कोषमा छ दशमलव ५० प्रतिशत ब्याजका साथै एक प्रतिशत मुनाफासमेत वितरण गरिरहेको छ । कोषले सञ्चयकर्तालाई साधारण रोग लागी उपचार गराएको हकमा प्रत्येक आर्थिक वर्षमा एक लाख रुपैयाँसम्म र घातक रोगको उपचारको हकमा सेवा अवधिमा अधिकतम रु १० लाखसम्म सोधभर्ना प्रदान गर्ने गरेको छ ।

यस्तै सुत्केरी तथा शिशु हेरचाह खर्चबापत सात हजार ५०० रुपैयाँ, दुर्घटना क्षतिपूर्तिबापत दुई लाख रुपैयाँ, काजकिरिया अनुदानबापत हकवालालाई ४० हजार रुपैयाँ प्रदान गर्ने गरिएको कोषले जनाएको छ ।

कोषद्वारा सुदूरपश्चिमका सञ्चयकर्तालाई लक्षित गरी धनगढी शाखामार्फत विसं २०६१ देखि सबै प्रकारका सेवा शुरु गरिएको थियो । शाखाको स्थापनापश्चात् कोषको सेवा लिन केन्द्रमा जानुपर्ने सञ्चयकर्ताको झन्झट हटेको छ । धनगढी शाखाबाट सुदूरपश्चिम क्षेत्रका करिब एक लाख सञ्चयकर्ता लाभान्वित भइरहेको बताइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?