कक्षा १२ को परीक्षा : परीक्षा हुनेमा विद्यार्थीलाई विश्वास नै थिएन

दिपेन्द्र अधिकारी / काठमाडौं । कोरोना संक्रमण त्रासका कारण पटक–पटक स्थगित कक्षा १२ को परीक्षा स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्दै भौतिक उपस्थितिमै भदौ ३० गतेबाट सुरु भएको छ ।

सरकारले परीक्षामा सहभागी सबै विद्यार्थीलाई कोरोनाविरुद्धको खोप लगाएको दाबी गरेको छ । तर, परीक्षामा सहभागी ३ लाख ७४ हजार परीक्षार्थीमध्ये ८ सय ८० जना त १८ वर्षभन्दा कम उमेरका छन् । राष्ट्रिय परीक्षा बोर्डले दाबी गरे पनि १८ वर्षभन्दा कम उमेरका सहित धेरै विद्यार्थीले खोपको मुखै देख्न पाएका छैनन् ।

‘छैन नि खोप लगाएकौ छैन । हामी काठमाडौंमा थिएनौँ, त्यही पनि परीक्षा हुन्छ÷हुँदैन अन्योल भयो’, परीक्षार्थी सलिना केसी भन्छिन् । खोप नलगाई परीक्षा दिन लाग्दा उनलाई डर लागेको छ । उनी भन्छिन्, ‘कतिपयलाई खोप लगाइसकेपछि ज्वरो आउने, बिरामी हुने पनि भए, खोप नलगाएपछि कोरोना लागिहाल्छ कि भन्ने डर हुन्छ । ढुक्क भन्ने त हुँदै हुँदैन ।’

परीक्षाकेन्द्र पुग्दा पनि विद्यार्थी परीक्षा दिन पूर्ण रूपमा तयार देखिएनन् । अर्की परीक्षार्थी कविता पुरी भन्छिन्, ‘हामीलाई त आज पनि हुँदैन होला, स्थगित हुन्छ होला भन्ने लागिरहेको थियो । पहिला परीक्षा हुन्छ भन्ने निश्चित भएपछि तयारी गरेका थियौँ । धेरै ग्याप भयो हामीलाई लाग्छ कि फेरि पनि स¥यो । तयारी गरेकै छैनौँ, तै पनि गाह्रो भइरहेको छ डर पनि लागिरहेको छ । कोरोनाको डर पनि छ । सबैले सचेत गराउनुभएको छ ।’

अर्का विद्यार्थी तम्बसेर राई पनि तयारी गर्न नसकेकोमा चिन्तित छन् । उनी भन्छन्, ‘साथीहरूले पनि प्रोटोकल त पालना गरिरहनुभएको छ । सकेसम्म हामी जोगिने प्रयासमा छौँ । कोरोनाको कारणले पढाइमा अवरोध आयो, पछि मात्र पढाइमा फोकस गरियो ।’

राष्ट्रिय परीक्षा बोर्डले कोभिड–१९ संक्रमित विद्यार्थीका हकमा पछि परीक्षा दिने व्यवस्था गरेको छ । यसअघि दुई पटकसम्म तालिका प्रकाशित गरेर स्थगित भएको परीक्षा तेस्रो प्रयासमा सम्भव भएको हो ।

पटक–पटक परीक्षा स्थगित हुँदा विद्यार्थीको तयारीमा पनि असर परेको छ । एक पटक तयारी गरेर बसेका आफूहरू स्थगित भएपछि अन्योलमा परेको विद्यार्थीको गुनासो छ । परीक्षाका लागि ४ हजार ३ सय १५ विद्यालयमा ‘होम सेन्टर’ कायम गरिएको छ । इन्टरनेट नपुगेका १ सय १३ परीक्षाकेन्द्रमा प्रश्नपत्र पठाइएको छ भने बाँकी केन्द्रमा परीक्षा हुनु आधा घण्टाअघि इमेलमार्फत प्रश्नपत्र पुगेको छ ।

मापदण्डबमोजिम २ मिटर दूरीसहित अंग्रेजी अक्षर जेड ढाँचामा परीक्षा केन्द्रमा परीक्षार्थीको सिट प्लान गरिएको, हेल्थडेक्स राखिएको, ज्वरो परीक्षण गरेर मात्र विद्यार्थी प्रवेश गराइएको, अनिवार्य रूपमा स्यानिटाइजर र मास्क प्रयोग गराइएको, एउटा कक्षामा २५ जना मात्रै विद्यार्थी राखिएको दाबी गरिएको छ ।

परीक्षाकेन्द्र कोरोनाको हटस्पट बन्नेमा केन्द्राध्यक्षलाई पनि चिन्ता लागेको छ । काठमाडौंको जनकल्याण माविकी प्रधानाध्यापक कुमारीकमला राई भन्छिन्, ‘विद्यार्थीहरूलाई सुरक्षा मापदण्डभित्र त हालेका छौँ । अहिले वातावरण कोरोनामय नै छ । कुनै विद्यार्थी संक्रमित भएका रहेछन् भने ती विद्यार्थीले अरुलाई संक्रमित बनाउँछन् कि ? कक्षाकोठाभित्र त हामीले व्यवस्थापन गरेका छौँ तर बाहिर त उनीहरू एकैठाउँमा हुन्छन् ।’

परीक्षा मर्यादित वातावरणमा चलेको उनले बताइन् । परीक्षा पहिले नै हुनुपर्ने र रोक्नुपर्ने कारण नै नभएको उनले बताइन् । विद्यार्थीमा अपेक्षित सिकाइ उपलब्धि हाँसिल हुन नसकेकोमा चिन्ता व्यक्त गर्न थालिएको छ । पशुपति बहुमुखी क्याम्पसको सहायक प्रमुख चन्द्र पन्त भन्छन्, ‘यो ब्याजका विद्यार्थी कोरोनामै जन्मे कोरोना कालमै यहाँसम्म आइपुगे । उनीहरूको एसईई, कक्षा ११ कोरोनामै बित्यो ।’

विद्यार्थीलाई सम्पर्कमा ल्याउन कठिन भएको उनको भनाइ छ । उनी भन्छन्, ‘प्रवेशपत्र देखाएर भ्याक्सिन दिन्छु भनेर सरकारले भन्यो कतिपय विद्यार्थीले त्यो पनि थाहा पाएनन् । उनीहरूलाई टे«सिङ गर्नै गाह्रो भयो । धेरै टाढा थिए । उनीहरू बसेको ठाउँमा फोन समेत लाग्दैनथ्यो । आन्तरिक मूल्यांकनको कुराले साँच्चै नै विद्यार्थीहरूले पढ्न छोडिसकेका छन् । मूल्यांकनको आधारमा हाम्रो परीक्षा भइदिए हुन्थ्यो । सकिन्छ भने हामीलाई प्रमाणपत्र र ट्रान्सकिप्ट मात्रै पाए पनि हुन्थ्यो भन्ने अवस्थामा छन् । यस्तो अवस्थामा उनीहरू परीक्षामा सामेल भएका छन् ।’

अनिवार्य र ऐच्छिक गरी कक्षा १२ मा करिब ९० विषयको परीक्षा हुनेछ । परीक्षा बोर्डले यो पटक १ सय पूर्णांकमा परीक्षा भएको जनाएको छ ।

बोर्डको प्रदेश कार्यालय र सम्पर्क कार्यालयमा उत्तरपुस्तिका परीक्षण गर्ने व्यवस्था मिलाइएको छ । विश्वविद्यालय तहमा भर्ना हुन र अन्य पाठ्यक्रममा पढ्न क्यालेन्डर प्रभावित नहुने गरी छिटै परीक्षाफल निकाल्ने बोर्डको तयारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?