पुँजीबजार सुधारको १६ बुँदे मागसहित लगानीकर्ताहरु आमरण अनशनमा

लोकपथ
247
Shares

काठमाडौं । पुँजीबजार सुधारको १६ बुँदे मागसहित लगानीकर्ताहरुले आज (बिहीबार) देखि आमरण अनशन सुरु गरेका छन् ।

अर्थमन्त्री र गभर्नरको तत्काल बर्खास्तीको मुख्य मागसहित पुँजी बजार सुधार संघर्ष समितिले आदित्य शिवाकोटीको संयोजकत्वमा आजबाट आमरण अनशन सुरु गरेका हुन् । उनीहरुले नेपाल स्टक एक्सचेन्ज (नेप्से) को कार्यालय अगाडि अनशन सुरु गरेका हुन् ।

सेयर धितो कर्जाको सीमाको विरोध गर्दै भदाै २१ गतेदेखि उनीहरु आन्दोलनरत छन् । उनीहरुले गभर्नरको राजिनामासहित विभिन्न १८ बुँदे माग राख्दै यस नेपाल राष्ट्र बैंक, नेपाल धितोपत्र बोर्ड, अर्थमन्त्रालयमा ज्ञापनपत्र समेत बुझाएका थिए ।

त्यसैगरी, भदौ २३ गतेदेखि भदाै २९ गतेसम्म दैनिक रुपमा दिउँसो ३ बजेदेखि ५ बजेसम्म माइतीघरमा रिले अनसन बसिरहेका थिए । धितोपत्र बोर्ड, राष्ट्र बैंक र अर्थमन्त्रालयसँग वार्ता भए पनि सकारात्मक नदेखिएपछि आजबाट आमरण अनशन सुरु गरिएको समितिका संयोजक रामकृष्ण ढकालले लोकपथलाई जानकारी दिए ।

आफूहरुको माग साना लगानीकर्ताको हितका भएको हुनाले इच्छुक लगानीकर्ताहरुलाई अनशनमा जोडिन अर्का संयोजक उमेश राज सिलवालले आग्रह गरे ।

गभर्नरमाथि अनुसन्धान गरी कारवाहीको दायरमा ल्याउन छानबिन समिति गठन गरी १५ दिनभित्र प्रतिवेदन पेश गरि कानून बमोजिम कारबाही गर्न माग गरेका छन् ।

विगतमा गरिएको आन्दोलनको मर्मलाई बुझेर, त्यतिबेला प्रस्तुत गरिएको ५८ बुँदै सहमतिलाई अक्षरांश पालना गर्न पनि उनीहरुले माग गरेका छन् ।

त्यसैगरी, लघुवित्त कम्पनीहरुले २०% भन्दामाथिको बोनस शेयर वितरण गर्दा ५०% भन्दा माथिको रिजर्व राख्नुपर्ने अनुचित र अव्यवहारिक व्यवस्थालाई तत्काल खारेज गर्न, १% बाट १.३% हुने गरि बढाइएको असल कर्जा सम्बन्धी व्यवस्थालाई तत्काल संशोधन गरि १% नै कायम गराउन, सेयर धितोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जामा तोकिएको विद्यमान समयावधीलाई संशोधन गरि १२० दिनको औषत मूल्य कायम गराउन लागायत विभिन्न १६ बुँदे माग गरेका छन् ।

आफुहरुको माग पूरा नभएसम्म आमरण अनशन बस्ने लगानीकर्ताहरुले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?