मनाङमा छैन बाटो, स्याउ बजारमा कसरी पुर्‍याउने !

RSS
476
Shares

मनाङ । यस वर्ष जिल्लामा उत्पादित स्याउ बजारमा पुग्न सकिरहेका छैनन् । विगतका वर्षमा भदौ महिना लाग्नासाथ स्याउ बजारमा पुर्‍याउन सुरु गरिन्थ्यो । नासों गाउँपालिका–९ स्थित दानाक्यु एग्रो फार्म प्रालिका सञ्चालक राजु गुरुङले सडक नहुँदा यस वर्ष स्याउ टिप्न र बजारसम्म पुर्‍याउन ढिलो भएको बताए ।

उनले भने, ‘विगतका वर्षमा यतिखेर स्याउ टिप्न चटोरो हुन्थ्यो । यस वर्ष स्याउ टिप्न र बजार लैजान सक्ने अवस्था छैन । कतै सडक नहुँदा बारीमा नै कुहिने त होइन भन्ने चिन्ता लागेको छ ।’

उनका अनुसार एक सय रोपनीका फार्ममा लगाइएको स्याउ मध्ये ३० रोपनी पहिराले बगाउँदा ४० लाख क्षति भएको छ । उनी जस्तै जिल्लाका आफ्नै बारीमा व्यावसायिक स्याउ खेती गर्दै आएका किसान सडक नहुँदा मर्कामा परेका छन् । यस पटकको बाढी पहिराले स्याउ खेती गर्ने किसान बढी समस्यामा परेका जनाइएको छ । बजारमा स्याउ पुर्‍याउन मुस्किल भएको नासों–८ ताचैका किसान सोलबहादुर गुरुङ बताए ।

उनले भने, ‘दशैंँ अगाडिसम्म सडक सुचारु भएमा स्याउ पुर्‍याउन सकिन्छ कि भन्ने आशा जागेको छ।’

एग्रो मनाङका प्रमुख सोमराज गुरुङले यतिखेर स्याउ बजारमा पुर्‍याउनुपर्ने भए पनि सडकका कारण पुर्‍याउन नसकिएको बताए । ‘गत वर्ष यो सिजनमा प्याकिङ गरिन्थ्यो । यस वर्ष पनि दशैंसम्म सडक निर्माण हुने खबर पाएका छौँ । सोही अनुसार प्याकिङको काम थालेका छौँ । सडक बनेपछि बजारमा पुर्‍याउने तयारीमा छौँ’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?