ब्याजदर र घट्दो बजारको चपेटामा लगानीकर्ता : कहिले पाउलान् राहत ?

काठमाडौं । सेयर बजारको निरन्तर ओरालो यात्रा अझै रोकिएको छैन । दिनहुँजसो घटिरहेको बजारको ओरालो यात्राले आज पनि निरन्तरता पाएको छ । यस साताको अन्तिम कारोबार दिन आज (बिहीबार) पनि सेयर बजारमा भारी गिरावट आएको छ ।

अधिकांश बैंक तथा वित्तीय संस्थाहरुले भोलि (असोज) १ गते शुक्रबारदेखि लागू हुनेगरी नयाँ ब्याजदर प्रकाशन गरेका छन् । कतिपय बैंकले मुद्दती निक्षेपको ब्याजदर ९ प्रतिशतभन्दा माथि पुर्याइदिएको छ । यसको प्रत्यक्ष प्रभाव सेयर बजारमा परेको देखिन्छ । अधिकांश वाणिज्य बैंक तथा विकास बैंकले मुद्दति निक्षेपको ब्याजदर बढाएसँगै यसको प्रत्यक्ष प्रभाव सेयर बजारमा देखिएको छ ।

बैंकको ब्याजदर घट्दा सेयर बजार बढ्छ भने बैंकको ब्याजदर बढ्दा सेयर बजार घट्छ। किनभने अधिकांश लगानीकर्ताहरुले कर्जा लिएर बजारमा लगानी गरिरहेका हुन्छन् । बैंक तथा वित्तीय संस्थाहरुले त्यसको ब्याजदर बढाएसँगै लगानीकर्ताहरु मारमा परेका छन् ।

निरन्तर ओरालो लागिरहेको सेयर बजार ब्याजदरले अझै प्रभावित बनेको छ । राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत जारी गरेको सेयर धितो कर्जाबाट प्रभावित बनेको बजारमा बैंक तथा वित्तीय संस्थाले बढाएको ब्याजदरले झनै प्रभावित बनाएको छ । ३२ सयको बिन्दुमा पुगेको सेयर बजार अहिले घटेर २८ सयको बिन्दुमा पुगेको छ ।

बजारमा निरन्तर गिरावट आएसँगै लगानीकर्ताहरु अत्तालिएका छन् । कतिपय लगानीकर्ताहरु बजारबाट बाहिरिएका छन् भने कतिपय लगानीकर्ता अझै पर्ख र हेरको अवस्थामा रहेका छन् ।

सेयर धितो कर्जाको सीमाका कारण ठूलो लगानीकर्ताहरुले सेयर बेच्नुपरेको बाध्यात्मक अवस्थामा साना र मध्यम लगानीकर्ताहरुले बजार धानिरहेको अवस्थामा ब्याजदरले बजारलाई झनै प्रभावित बनाएको छ ।

आज सेयर कारोबार मापक नेप्से परिसूचक ७६.६५ अंकले घटेर २८१२.३८ अंकमा पुगेको छ । यता सेन्सेटिभ परिसूचक १२.७३ अंकले घटेर ५२५.७८ विन्दुमा पुगेको छ । आज कुल २२९ कम्पनीको १ करोड ६४ लाख ६८ हजार ५०८ कित्ता सेयर खरिदबिक्री गर्दा ९ अर्ब ३ करोड ३९ लाख ६२३ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।

आइतबार कुल १३ उपसमूहमा १३ वटै समूहको सेयरमूल्य घटेको छ । आज फाइनान्स र हाइड्रोपावर समूहका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् ।

यता, सेयर धितो कर्जाको विरोधमा उत्रिएका लगानीकर्ताहरुले आजबाट आमरण अनशन सुरु गरेका छन् । आफूहरुको माग सम्बोधन नभएको र नियामक निकायले माग संसोधन गर्न कुनै चाँसो नदेखाएको भन्दै पुँजी बजार सुधार संघर्ष समितिले आजबाट आमरण अनशन सुरु गरेका हुन् ।

सेयर बजार घट्नुमा राष्ट्र बैंक जारी गरेको सेयर धितो कर्जाको सीमा, राजनीतिक अस्थिरता, बैंक तथा वित्तीय संस्थाहरुले जारी गरेको ब्याजदर, नियामक निकाय गैरजिम्मेवारीपना मुख्य कारण रहेको लगानीकर्ता डमरु बल्लब घिमिरे बताउँछन् ।

उनले सरकार र नियामक निकाय पारदर्शी बन्न नसक्दा पनि बजार बियरिसतिर ढल्किएको आरोप लगाए । लगानीकर्ताहरु कहिलेसम्म त्रसित बन्नुपर्ला भनी लोकपथले गरेको प्रश्नमा उनले चाडपर्व नजिकिएकोले अब याे नसकिएसम्म बजारले गति लिन नसक्ने बताए । ‘बजार बियरिस ट्रेन्डमा त लागेको छैन तर चाडपर्व नजिकिएकोले बजारको लगानी बाहिरने भएकोले दशैँ तिहारपछि मात्र बजारले गति लिन्छ’, उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?