काठमाडौं । नेपाल राष्ट्र बैंकले भोलि (बिहिबार) २० अर्बको रिपो जारी गर्ने भएको छ । राष्ट्र बैंकले बिहिबार रिपो मार्फत २० अर्ब रकम बजारमा पठाउन लागेको हो ।
राष्ट्र बैंकले बिहिबार १४ दिने अवधिको रिपो जारी गर्न लागेको हो । राष्ट्र बैंकले क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थामार्फत यो रकम बजारमा पठाउने छ । यसको ब्याजदर भने बोलकबोलबाट निर्धारण हुने बैंकले जनाएको छ ।
राष्ट्र बैंकले यसअघि भदौ २४ मा पनि ३० अर्बको रिपो जारी गरेको थियो।
रिपो भनेको के हो ? यसको उपयोग के का लागि गरिन्छ?
बैंकिङ प्रणालीमा साधारण प्रकृतिको न्यून तरलताको स्थिति देखिएमा छोटो अवधि (अधिकतम सात दिन) को लागि तरलता प्रवाह (liquidity injection) गर्न प्रयोग हुने उपकरणलाइ रिपो भनिन्छ। यसअन्तर्गत तरलता आवश्यक परेको बैंक तथा बित्तिय संस्थाहरुबाट ट्रेजरी बिल वा विकास ऋणपत्र धितोको रुपमा लिई निश्चित ब्याज लिने शर्तमा नेपाल राष्ट्र बैंकले उक्त संस्थाहरु लाइ अल्पकालीन सापटी प्रदान गर्दछ जसले गर्दा बैंकिंग प्रणालीमा तरलता प्रबाह हुन जान्छ।
यसरी तरलता प्रवाह गर्दा बोलकबोल विधि (Auction Mechanism) बाट सबैभन्दा बढी ब्याज तिर्न तयार बैंकलाई पहिलो प्राथमिकतामा राखी क्रमैसँग आह्वान रकमसम्म बाँडफाँट गरिन्छ र भुक्तानी मितिमा बैंक तथा बित्तिय संस्था बाट एकमुष्ट रुपमा साँवा ब्याज रकम असुल गरी धितोको रुपमा राखेको ट्रेजरी बिल वा विकास ऋणपत्र फिर्ता गरिन्छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया