जो देउवासँग दुःखी छन्

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देवालाई धेरै समय साथ दिएका नेताहरू अहिले उनको क्याम्पमा छैनन् ।

कुनै बेला देउवालाई दह्रो साथ दिनेहरूमा प्रकाशमान सिंह, डा. मिनेन्द्र रिजाल, बलबहादुर केसी, खुमबहादुर खड्का, खेमराज भट्ट, मायालु, गोपालमान श्रेष्ठ, विजय गच्छेदार, विमलेन्द्र निधि आदि थिए ।तर यीमध्ये केही नेताहरू देउवासँग टाढिइसकेका छन् । प्रकाशमान, मिनेन्द्र, बलबहादुरलगायतका नेताले देउवालाई पहिला नै छाडेर अहिले वरिष्ठ नेता रामचन्द्र पौडेल गुटमा छन् । खुमबहादुरको निधन भइसकेको छ । खेमराज माओवादीमा लागेका छन् ।

कुनै बेला देउवालाई साथ दिएकाहरूमा उपसभापति विमलेन्द्र, गोपालमान र पार्टी प्रवक्ता विश्वप्रकाश शर्मा पनि देउवासँग दुःखी भएका छन् । कांग्रेसको १४औं महाधिवेशन नजिकिँदै गर्दा देउवाका सारथि घट्दै गएका छन् ।

१३औं महाधिवेशनमा देउवालाई दरिलो बनाएका निधि र गोपालमानले अहिले उनलाई छोडेर दुवै जनाले सभापतिमा उम्मेदवारी घोषणा गरेका छन् ।

कांग्रेस छोडेर गएका गच्छदार देउवासँग टाढिए पनि अहिले पुनः कांग्रेसमा फर्किएका छन् । उनी अहिले देउवाको साथमा छन् ।

प्रवक्ता विश्वप्रकाशले १४औं महाधिवेशनका लागि महामन्त्रीमा उम्मेदवारी घोषणा गरेका छन् । देउवाले उनलाई सहयोग गर्लान् भन्ने विश्वास नभएपछि उनी विमलेन्द्रको गुटमा लाग्ने सम्भावना छ ।
विश्वप्रकाशले १३औं महाधिवेशनको केही समयपछि देउवाको साथमा रहेर काम गरेका हुन् ।

अरुको त के कुरा भयो र ? देउवालाई गृहजिल्लामा विगतमा साथ दिएका डडेल्धुराका पार्टी सभापति कर्णबहादुर मल्ल पनि अहिले देउवाबाट दुःखी छन् ।

किन टाढिँदै छन् देउवाबाट ?

विगतमा देउवालाई साथ दिएका एक नेताका अनुसार देउवाको कार्यशैली, आफूलाई सहयोग गरेका नेताहरूलाई धोका दिनु, पार्टी र सरकारमा शक्तिशाली भएका बेला नेता–कार्यकर्ताको बेवास्ता गर्नुजस्ता कारणले देउवालाई साथ दिनेहरू दुःखी हुँदै गएका हुन् ।

ती नेताका अनुसार पार्टीमा लेनदेनमा कुरा नमिल्दा पनि देउवासँग विगतमा उनीसँगै रहेका व्यक्तिहरू क्रमशः देउवाबाट टाढिँदै जान थालेका हुन् । विगतमा देउवाले विमलेन्द्र र गोपालमानलाई १४औं महाधिवेशनमा सहयोग गर्ने बचन दिएका थिए । तर देउवाले पार्टी सभापतिमा पुनः दोहोरिने आकांक्षा देखाइसकेका छन् ।

यसो गर्दा निधि र गोपालमानलाई देउवाले सहयोग गर्ने कुरै भएन । विगतको आश्वासनबाट देउवा चुकेका छन् । विगतमा आफूले देउवालाई सघाएका कारण अब देउवाले आफूलाई सघाउनुपर्ने गोपालमानको भनाइ छ । सत्ता र शक्तिको वरिपरि घुम्न खोज्ने देउवाले लहडका भरमा काम गर्ने, पार्टीमा आफ्नो मनपरीतन्त्रलाई वैधानिकता दिन खोज्नेजस्ता काम गर्नेगरेका कांग्रेस नेताहरूको आरोप छ ।

१३औं महाधिवेशनमा देउवालाई साथ दिने केन्द्रीय नेताहरू अहिले उनको कार्यशैलीबाट पूरै रुष्ट छन् । सत्ता र शक्तिलाई खेलाउन जान्ने राजनीतिक खेलाडीका रूपमा देउवालाई हेरिए तापनि गुट व्यवस्थापनमा देउवा कमजोर देखिन थालेका छन् । पार्टीमा आर्थिक रूपमा जो बलियो छ त्यसलाई नै च्याप्ने गरेको आरोप पनि देउवालाई लाग्दै आएको छ ।

विशेषगरी कांग्रेस राजनीतिमा देउवापत्नी आरजुको बोलबाला बढ्न थालेपछि देउवाको दैलौ कुर्ने नेता–कार्यकर्ताहरू उनीबाट विस्तारै टाढिँदै जान थालेका हुन् । खासगरी पार्टीको टिकट वितरणदेखि सरुवा, बढुवा, नियुक्ति र कमिसनजस्ता मामिलामा आरजुको विशेष रुचिका कारण पनि देउवानिकट रहेका नेता–कार्यकर्ता विगतदेखि नै बिच्किँदै आएका हुन् ।

देउवाको मनपरीतन्त्रका कारण कांग्रेसमा गुट बदल्ने नेताहरू बढ्न थालेको कांग्रेस नेताहरूको टिप्पणी छ । कांग्रेसको १४औं महाधिवेशन आगामी मंसिर ९ देखि १३ सम्म काठमाडौंमा हुँदै छ । त्यस बेलासम्म देउवाले आफ्नो गुट व्यवस्थापन गर्न नसके उनीबाट दुःखी भएर पर–पर हुनेहरूको संख्या बढ्न सक्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?