सेयर बजारको ओरालो यात्रा कायमै, सेयर धितो कर्जाको सीमा पचाउन नसकेकै हो त ?

लोकपथ
13
Shares

काठमाडौं । नेपाली सेयर बजारको ओरालो यात्राले आज (बुधबार) पनि निरन्तरता पाएको छ । आज पनि नेप्से परिसूचकमा भारी गिरावट आएको छ ।

पछिल्लो समय नेपाली सेयर बजार दिनहुँ ओरालो लागिरहेको छ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीति जारी गर्दै सेयर धितोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जामा एक व्यक्ति वा संस्थाले एक वित्तीय संस्थाबाट अधिकतम ४ करोड रूपैयाँ र समग्र वित्तीय प्रणालीबाट अधिकतम १२ करोड रूपैयाँसम्म मात्र लिन सक्ने व्यवस्था थियो । त्यसयता बजारले गति लिन सकेको छैन । ठूला लगानीकर्ताहरु सेयर बेच्नुपर्ने दवावमा परेको कारण बजारमा गिरावट आएको जानकारहरु बताउँछन् । लगानीकर्ताहरु अझै पर्ख र हेरको अवस्थामा रहेका छन् ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार आज सेयर कारोबार मापक नेप्से परिसूचक ४०.२६ अंकले घटेर २८८९.०३ विन्दुमा पुगेको छ । आज नेप्से १.३७ प्रतिशतले घटेको हो । यस्तै, सेन्सेटिभ परिसूचक पनि ७.१६ अंकले घटेर ५३८.५० विन्दुमा पुगेको छ ।

आज कुल २२२ कम्पनीको एक करोड ५ लाख ५७ हजार ८६६ कित्ता सेयर खरिदबिक्री हुँदा ५ अर्ब ३५ करोड ८० लाख ९७ हजार २५१ रुपैयाँको कारोबार भएको छ ।

कुल १३ उपसमूहमा १३ वटै समूहको सेयरमूल्य घटेको छ । आज फाइनान्स समूहको सेयरमूल्य सर्वाधिक घटेको छ । यो समूहको सेयरमूल्य २.९८ प्रतिशतले घटेको हो ।

बजार घट्नु र बढ्नु बजारको नियम नै भएकोले बजारमा सामान्य करेक्सन मात्र देखिएको विश्लेषकहरु बताउँछन् ।

राष्ट्र बैंकले तोकिदिएको सेयर धितो कर्जाको सीमाका कारण नै बजारमा उतारचढाव आएको युवा लगानीकर्ता कमल पन्थी बताउँछन् । सेयर धितो कर्जाका कारण ठूला लगानीकर्ताहरु प्रभावित भएकोले अहिले साना लगानीकर्ताहरुले नै बजार धानिरहेको पन्थी बताउँछन् ।

अहिले लगानीकर्ताहरुले नाफा बुक गर्न खोज्दा पनि बजारमा करेक्सन देखिएको बताउँछन् । अर्को कारण बजेट पास हुन नसक्दा पनि बजारमा तरलता आउन नसकेको उनको तर्क छ । अब कम्पनीहरुको लाभांश घोषणा हुने र यसले केहि हदसम्म बजारलाई उठाउने उनले बताए । लगानीकर्ताहरु आत्तिनु नहुने भन्दै बजार केहि समयको उचारचढावपछि बजारले पुन: गति लिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?