काठमाडौं । नेपाली कांग्रेसको आगामी महाधिवेशन नजिकिएसँगै विभिन्न पदमा उम्मेदवारी घोषणा गर्ने क्रम जारी छ ।
सोही क्रममा उपसभापति पदमा चन्द्र भण्डारी लढ्न लागेको भन्दै सामाजिक सञ्जालमा बधाईको ओइरो आइरहेको छ । प्रखर वक्ता समेत रहेका नेता भण्डारीको ब्यानरसहित अभियान चलेपनि आफूले अहिले कुनै पनि पदका लागि उम्मेदवारी घोषणा नगरेको बताए ।
आगामी महाधिवेशनमा उपसभापति उठ्न लाग्नुभएको हो ? भन्ने लोकपथको प्रश्नमा नेता भण्डारीले भने-‘बाहिर हल्ला चलिरहेको होला । तर अहिले नै मैले कुनै पनि पदमा उठ्ने भन्ने कहीँकतै बोलेको छैन ।’

यसैगरी आफूले आगामी महाधिवेशनमा उचित समयमा उम्मेदवार बन्ने घोषणा गर्ने बताए । ‘अहिले नै मैले कुनै पदमा लढ्ने भन्ने घोषणा गरिसकेको छैन । उचित समय आएपछि उम्मेदवारी घोषणा गर्छु । तर सामाजिक सञ्जालमा आएजस्तो मैले कतै पनि बोलेको छैन’, नेता भण्डारीले भने ।
नेपाली कांग्रेसको केन्द्रीय महाधिवेशन आगामी मंसिर ९ देखि १३ गतेसम्म काठमडौंमा हुँदैछ । गत भदौ १८ र २१ गते वडा अधिवेशन सम्पन्न भइसकेको छ । भने आगामी असोज ९ गतेको लागि गाउँ/नगर अधिवेशन र त्यसपछि चरणबद्ध रुपमा अन्य क्षेत्रको अधिवेशन हुँदै छ ।
महाधिवेशन नजिकिएसँगै पदाधिकारी तथा अन्य पदका लागि उम्मेदवारी घोषणा गर्ने क्रम जारी छ । सोही क्रममा कांग्रेस केन्द्रीय सदस्य जित शेरचन, उपसभापति विमलेन्द्र निधिले आगामी महाधिवेशनमा सभापतिको उम्मेदवारी घोषणा गरिसकेका छन् ।
त्यसैगरी केन्द्रीय सदस्य एवं प्रवक्ता विश्वप्रकाश शर्मा, केन्द्रीय सदस्यद्वय गगन थापा र प्रदीप पौडेलले पनि आगामी महाधिवेशनमा महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरिसकेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया