रौतहट, २ बैशाख – प्रहरीले दुई वर्षअघि गौरबाट ठाकुरप्रसाद न्यौपानेलाई पक्राउ गर्यो । खानतलासी गर्दा उनको साथबाट बरामद कागजपत्रले न्यौपाने भुटानी नागरिक रहेको र उनले रौतहटबाट नेपाली नागरिकताको प्रमाणपत्र लिएको खुल्यो, कान्तिपुर दैनिकमा खबर छ ।झुटो विवरण पेस गरेर नागरिकता लिएको भन्दै उनीविरुद्ध मुद्दा चलाएर प्रहरीले छानबिन अगाडि बढायो । न्यौपानेले साबिकको जंगडिया गाविसमा २०६३ मा खटेको टोलीका कर्मचारीलाई १८ हजार रुपैयाँ दिएर नागरिकता लिएको बयान न्यौपानेले दिए । प्रहरीले अनुसन्धानका लागि जिल्ला प्रशासन कार्यालयमा पत्र लेखेर टोलीले वितरण गरेको अनुसूची फारमको कागजपत्र माग गर्यो । तर उक्त गाविसमा खटिएको टोलीले वितरण गरेको नागरिकताका सबै कागज पानी चुहिएर गलेको जवाफ प्रहरीले पायो ।जिल्ला प्रहरी कार्यालयले रौतहटका तत्कालीन प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद ओलीलाई प्रमाण नष्ट भएकोबारे छानबिन गर्न अनुरोध गर्यो । नागरिकता लिंदा पेस गरेको अनुसूची फारम प्रशासनबाट गायब भएको खुलेपछि ओलीले छानबिनमा चासो देखाए । उनको सरुवापछि छानबिन रोकियो ।टोलीले त्यसबेला विभिन्न प्रलोभनमा परेर ३० भन्दा बढी भुटानी नागरिकलाई झुटो विवरणको भरमा नागरिकता वितरण गरेको पाइएको छ । ओलीपछि आएका तत्कालीन प्रमुख जिल्ला अधिकारी शिवहरि उपाध्यायले कर्मचारीको बदमासी भएको बताएका थिए । नागरिकताको कागज गायब गर्नेले उन्मुक्ति नपाउने उनको भनाइ थियो । तर, अहिलेसम्म अनुसन्धान प्रक्रिया अघि बढेको छैन न त कुनै कर्मचारीमाथि कारबाही भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया