इजरायलका लागि केयरगिभरमा जानेहरूको भाषा परीक्षाको नतिजा प्रकाशित

लोकपथ
234
Shares

काठमाडौं । इजरायलका लागि केयरगिभरमा जानेहरूका लागि लिइएको अंग्रेजी भाषा परीक्षाको नतिजा मंगलबार(आज) प्रकाशित भएको छ । सात हजार नौ परीक्षार्थी सहभागी उक्त परीक्षामा दुई हजार ३९ जना परीक्षार्थी उत्तीर्ण भएका छन्।

यस परिक्षामा उत्तीर्ण भएकाहरूको उचाइ र तौल परीक्षण व्यवसायिक तथा विकास तालिम प्रतिष्ठान भैंसेपाटीमा हुने उल्लेख गरिएको छ। त्यसका लागि असोज १, २ र ३ गते बिहान र दिउँसोको समय तोकिएको छ।

उचाइ र तौल तोकिएअनुसार हुनेहरूको अन्तर्वार्ता मिति समेत तोकिएको छ। उनीहरूको अन्तर्वार्ता असोज ४ गतेदेखि ९ गतेसम्म हुनेछ।

परीक्षापछि परीक्षार्थीले प्राप्त गरेको अंक सम्बन्धित व्यक्तिको अनलाइन प्रोफाइलमा विज्ञले प्रविष्ट गरिदिने व्यवस्था गरेको छ।

सोही प्राप्तांकका आधारमा छनोट समितिले योग्यताक्रम कायम गरी इजरायलबाट प्राप्त मागअनुसारभन्दा २५ प्रतिशत बढी उम्मेद्वारको नामावाली तयार गर्ने विभागले जनाएको छ।

सो नामावली विभागले इजरायलको पपुलेसन एन्ड इमिग्रेसन अथोरिटी (पीआइबिए)लाई पठाई सोको विवरण विभागको वेबसाइटमा प्रकाशन गर्नेछ। विभागले पठाएको सूचीबाट इजरायलको पिआइबिएले छनोट गर्नेछ।

पिआइबीएले छनोट गरेका व्यक्तिहरू र रोजगारदाताबीच रोजगार सम्झौता हुनेछ। रोजगार सम्झौता भएका व्यक्तिहरू इजरायल जान पाउने छन्। विभागले एक हजार चार सयको रोस्टर तयार गर्ने र त्यसबाट एक हजार कामदार इजरायलले छनोट गर्ने विभागले जनाएको छ।

इजरायल जाँदा लाग्ने शुल्क रोजगारदाताले नव्यहोरेको खण्डमा कामदार स्वयंले व्यहोर्नुपर्ने उल्लेख गरिएको छ। भिसा, टिकटलगायत खर्च करिब एक लाख ६५ हजार लाग्ने अनुमान विभागको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?