आमाबुबाले गरे ८ महिने शिशुकाे घाँटी रेटी हत्या, तीनै जना मर्ने थियाे ‘प्लान’

घटना भएको स्थान : रुपन्देहीको गैडहवा ६ स्थित घरको छतमा

समय : भदौ २६ गते रातको १ बजे

घटना संलग्न व्यक्ति : हत्या भएकी ८ महिने शिशुको आफ्नै आमा बाबु

***

रुपन्देहीको गैडहवा ६ का श्रीराम मल्लाह र उनकी श्रीमती रेनु मल्लाहले आफ्नै आठ महिने शिशुको हत्या गरेका छन् । आफ्नै घरको छतमा उनीहरुले ८ महिने शिशुको हसियाँले घाँटी रेटेर हत्या गरेका हुन् ।

सबै जना मर्ने थियो प्लान :

मल्लाह दम्पतीले पहिले शिशुको हत्या गर्ने र आफूहरु आत्महत्या गर्ने प्लान बनाएका थिए । प्लानअनुसार नै उनीहरु घटना भएको राति १ बजे घरको छतमा गए । रेनुले शिशुको खुट्टा समाएकी र श्रीरामले हँसिया प्रयोग गरी घाँटी रेटेर हत्या गरे ।

त्यसपछि रेनुले पनि आफूले आफैँलाई हँसियाले घाँटी रेट्न खोजिन् । तर सकिनन् ।उनको घाँटीमा हँसिया काट्न खोजेको डोब रहेको छ ।

आफ्नो हत्या आफैँ गर्न निकै गाह्राे भएपछि उनीहरुले तत्कालै प्लान चेन्ज गरेर नयाँ प्लान बनाए ।

शिशुको हत्या छिमेकीले गरेको भन्ने देखाउने उनीहरुको नयाँ प्लान थियो । भोलिपल्ट उनीहरुले प्रहरीसमक्ष छिमेकीले आफ्नो बच्चाको हत्या गरेको उजुरी समेत दिएका थिए ।

***

मल्लाह दम्पतीले किन गर्न खोज्यो आफ्नो र शिशुको हत्या ?

जग्गा विवाद नै यो घटनाको मुख्य कारण देखिएको छ ।

श्रीराम मल्लाहको बुबाको धेरै पहिल्यनै मृत्यु भइककेको थियो । श्रीरामको ३ जना दिदी र १ जना दाइ रहेका छन् ।

उनको आमाको नाममा सबै जग्गा र सम्पत्ति रहेको थियो । तर आमाले विवाह भएपछि पनि श्रीमानको नामबाट नागरिकता नलिएका कारण उनीसँग भएको नागरिकतामा उनी अविवाहित देखियो जसका कारण मल्लाह परिवारमा कसैको पनि नागरिकता बन्न सकेन ।

श्रीरामकी माहिली दिदीले विवाह गरेपछि आफ्नो श्रीमानको नामबाट नागरिकता पाइन् । नागरिकता पाइसकेपछि श्रीरामकी आमाले सबै जग्गा सम्पत्ति माहिली छोरीको नाममा गरिदिएपछि मल्लाह दम्पतीले उक्त घटनाको बारेमा सोचेका थिए ।

सबै सम्पत्ति दिदीको नाममा भइहाल्यो अब हामी बाँच्नुको कुनै अर्थ नभएको भन्दै मल्लाह दम्पतीले पहिले शिशुको हत्या गर्ने र आफूहरुपनि आत्महत्या गर्ने योजना बनाएका प्रहरी अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक एसपी मनोजकुमार क्षेत्रीले लोकपथलाई जानकारी दिए ।

‘पहिला उनीहरु आफैँले छिमेकीले बच्चाको हत्या गरेको बताएका थिए । पछि अनसुसन्धानको क्रममा उनीहरुले नै शिशुको हत्या गरेको पुष्टि गर्‍याे । उनीहरुले पनि हत्या गरेको स्वीकार गरेका छन्’, एसपी क्षेत्रीले बताए ।

भदौ २७ मा  प्रहरीले निजको घरको छतमा आलो रगत जमेको अवस्थामा भेट्टाएको र मल्लाह दम्पती सुत्ने कोठाको टेबुलमा रगत लागेको हँसिया भेटिएपछि शंका दम्पतीमाथि गरेको थियो ।

बिस्तारामा, विद्युतको स्वीचमा र रेनुले लगाएको सारीमा पनि रगत लागेको फेला परेको थियो । यसले उनीहरूमाथिकाे गरेकाे शंका बढेकाे थियाे ।

त्यसपछि प्रहरीले अनुसन्धान गर्दा उनीहरु आफैँले शिशुको हत्या गरेको स्वीकारेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?