साहस ऊर्जाको आईपीओ असोज ६ गतेदेखि बिक्री खुला हुने

लोकपथ
533
Shares

काठमाडौं । साहस ऊर्जा लिमिटेडले सर्वसाधारणका लागि असोज ६ गतेदेखि ७० करोड रुपैयाँबराबरको साधारण सेयर (आईपीओ) बिक्री गर्ने भएको छ ।

कम्पनीले १०० अंकित मूल्यका ७० करोड रुपैयाँबराबरको ७० लाख कित्ता आईपीओ निष्काशन गर्ने भएको हो । जसमध्ये ३ प्रतिशत अर्थात् २ लाख १० हजार कित्ता सेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात् ३ लाख ५० हजार कित्ता सेयर सामूहिक लगानी कोषका लागि र बाँकी ६४ लाख ४० हजार कित्ता सर्वसाधारणको लागि छुट्याइएको छ ।

लगानीकर्ताहरुले उक्त आईपीओमा असोज ६ गतेदेखि छोटोमा असोज १० गतेसम्म र ढिलोमा असोज २० गतेसम्म आवेदन दिन सक्नेछन् । उक्त आईपीओमा न्यूनतम १० कित्ता र अधिकतममा १० लाख ५० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ । पछिल्लो समय आईपीओमा पर्ने गर्नेको आवेदनलाई हेर्ने हो भने १० कित्ताको लागि मात्र आवेदन दिनु उपयुक्त हुन्छ ।

उक्त आईपीओको निष्काशन तथा बिक्री प्रबन्धकको काम एनआईबीएल एस क्यापिटल लिमिटेडले गर्नेछ । लगानीकर्ताहरुले उक्त आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । साथै मेरो सेयर एप र मेरो सेयर सफ्टवेयरमार्फत पनि आवेदन दिन सकिनेछ ।

कम्पनीको आईपीओलाई रेटिङ एजेन्सी इक्रा नेपालले इक्राएनपि आईआर डबल बी प्लस रेटिङ प्रदान गरेको छ । यसले कम्पनीले वित्तीय दायित्व पूरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको जनाउँछ ।

कम्पनीले सोलुखुम्बु जिल्लाको सोलुदुधकुण्ड नगरपालिका र थुलुङ्गदुधकोशी गाउँपालिकामा ८६ मेगावाट क्षमताको सोलु खोला दुधकोशी जलविद्युत् आयोजना निर्माण गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?