सुदूरपश्चिम : एकीकृत समाजवादीद्वारा भट्ट नेतृत्वको सरकारलाई समर्थन गर्ने निर्णय

कैलाली । नेकपा एकीकृत समाजवादी पार्टीले सुदूरपशिचम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट नेतृत्वको सरकारलाई समर्थन गर्ने निर्णय गरेको छ ।

नेकपा एसको सोमबार बसेको पहिलो संसदीय दलको बैठकले नेकपा माओवादी केन्द्रको नेतृत्वमा बनेको सरकारलाई नै समर्थन गर्ने निर्णय गरेको हो । सुदूरपश्चिममा भट्ट नेतृत्वको सरकारमा नेकपा एसका ३ मन्त्री र २ राज्यमन्त्री सहभागी छन् ।

यसैगरी सोमबार बसेको बैठकले नेकपा एकीकृत समाजवादी पार्टी सुदूरपश्चिम प्रदेश संसदीय दलको विधान मस्यौदा तयार पार्न तीन सदस्यीय समिति समेत गठन गरेको छ ।

उक्त समितिमा नेकपा एसकी प्रदेशसभा सदस्य दुर्गा विक, कुलविर चौधरी र अमर साउँद रहेका नेकपा एसकी केन्द्रीय सदस्य तथा आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशीले बताइन् ।

उनका अनुसार सोमबार ज्येष्ठ प्रदेससभा सदस्य बलबहादुर सोडारीको अध्यक्षतामा बसेको संसदीय दलको बैठकले संसदीय दलको नेता भने चयन गरेको छैन । मंगलबार पुनः बैठक बस्ने र सो बैठकमा संसदीय दलको नेता छनौटका बारेमा छलफल हुन सक्ने मन्त्री जोशीले बताइन् ।

समाजवादीपार्टी सुदूरपशिचम प्रदेश संसदीय दलको नेताका लागि भौतिक पूर्वाधार विकास मन्त्री दीर्घबहादुर सोडारी, आन्तरिक मामिला तथा कानून मन्त्री पूर्णा जोशी, तत्कालीन नेकपा एमालेका प्रमुख सचेतक तारा लामा तामाङलगायतका आकांक्षी छन् ।

स्रोतका अनुसार सोमबार बसेको नेकपा एसको संसदिय दलको बैठकमा दलको नेता छनौटका विषयमा सामान्य छलफल भएको थियो । छलफलमा आकांक्षी धेरै खेदिएको र सुरुकै बैठकमा विवाद हुने भन्दै सो विषयमा आगामी दिनमा छलफल गर्ने सहमति भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?