एमसीसी सम्झौंता कुनै पनि हालतमा लागू हुन दिन्नौं : विप्लव

लोकपथ
52
Shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव)ले एमसीसी सम्झौंता कुनै पनि हालतमा लागू हुन नदिने चेतावनी दिएका छन् ।

महासचिव चन्दले नेपालको राष्ट्रियता, स्वतन्त्रता, सार्वभौमिकता र नेपाली जनताको अधिकारको विरुद्धमा एमसीसी रहेको उल्लेख गर्दै त्यसलाई स्विकार गर्ने पक्षमा कुनै पनि नेपाली जनता नरहेको दावी समेत गरे ।

उनले अमेरिकाको राष्ट्रिय सुरक्षाका लागि लागू गर्ने सो सम्झौंताको विरुद्धमा उभिन देशभक्त, क्रान्तिकारी शक्तिहरुलाई आह्वान समेत गरे । एमसीसीको विरुद्धमा सोमबार काठमाडौंको खुलामञ्चमा पार्टीले आयोजना गरेको विरोध सभामा बोल्दै उनले नेपाली भूमिमा अमेरिकाले सुरक्षा गर्ने प्रावधानसहित आएको सम्झौंता पारित गर्न कसले सक्छ ? भनि प्रश्न पनि गरे ।

महासचिव चन्दले भने, ‘हामी लड्छौं । कुनै पनि हालतले एमसीसीलाई लागू हुन दिँदैनौं । यो कुनै लकाईछिपाईको कुरा छैन । आज पनि हामी भन्छौं–एमसीसी नेपालको राष्ट्रियताको विरुद्धमा छ । नेपालको सार्वभौमिकताको विरुद्धमा छ । नेपालको स्वतन्त्रताको विरुद्धमा छ । नेपाली जनताको अधिकारको विरुद्धमा छ । कुनै पनि देशले हाम्रो देशमाथि जब्बरजस्ती सन्धि लाद्न पाउँदैन । एमसीसी आज एउटा बहस छ । यहाँ पढि पनि सक्नु भयो । यहाँ थुप्रै बुँदाहरु छन । हामीले हे¥यौं । के लेखिएको छ भने–एमसीसी सम्झौंता र नेपालको कानुन बाझेको स्थितिमा एमसीसी सम्झौंता माथि हुनेछ । लप्सी फेदीदेखि सुनौलीसम्मको टावरहरुको जमिनमा अमेरिकाको अधिकार हुनेछ । त्यहाँको सेक्यूरिटी अमेरिकाले गर्नुपर्नेछ । यो कुरा उल्लेख छ, त्यहाँ । यो सम्झौंता कसको हितमा गरिदैछ ?अमेरिकाको राष्ट्रिय सुरक्षाका लागि यो सम्झौंता लागू गरिनेछ ।’

महासचिव चन्दले एमसीसी सम्झौंताविरुद्ध आफूहरुले झिल्को बालेको उल्लेख गर्दै त्यसलाई राँको बनाउनुपर्ने अवस्था आउन नदिन पनि सचेत गराए । उनले आफूहरुले वास्तविक अर्थमा नेपाली जनताको शासन सत्ता ल्याउन चाहेको दावी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?