‘देउवाले सत्ता र शक्तिको दुरुपयोग गरेर पार्टी कब्जा गर्न खोजे’

लोकपथ
273
Shares

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता र शक्तिको दुरुपयोग गरेर पार्टी कब्जा गर्ने दुस्साहस गरिरहेको आरोप लगाएका छन् ।

वरिष्ठ नेता पौडेलले सभापति देउवाले सत्ता र शक्तिको दूरुपयोग गरेर सम्पन्न गरिएका कतिपय वडा अधिवेशनहरु आफूहरुलाई मान्य नहुने चेतावनी समेत दिए । नेपाली कांग्रेस जिल्ला कार्य समिति सिन्धुपाल्चोकले सोमबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले आफू पक्षका नेता, कार्यकर्ताहरुलाई पाखा लगाउने काम पार्टी नेतृत्वले गरेको भन्दै आक्रोश समेत व्यक्त गरे ।

उनले पार्टीको आगामी महाधिवेशनमा नेतृत्व रुपान्तरण गरेर अघि बढनपनि पार्टीका नेता, कार्यकर्तालाई आह्वान गरे । त्यसो गरेर मात्रै कांग्रेसलाई लोकतान्त्रिकीकरणको बाटोमा हिँडाउन सकिने वरिष्ठ नेता पौडेलको बुझाइ छ ।

उनले भने, ‘वडा अधिवेशनहरु भयो भनेर नाटक रच्न खोजिएको छ । हामी यसलाई मान्दैनौं । हामी त्यसको विरुद्धमा, यस्तो चुनाव हुनुहुँदैन, त्यसरी धाँधलीका प्रपञ्च रच्न, यसरी सत्ता र शक्तिको दुरुपयोग गर्न नेपाली कांग्रेसजस्तो पार्टीलाई सुहाउँदैन । नेपाली कांग्रेसजस्तो लोकतन्त्रको पाठशाला भएको पार्टीलाई आज यस किसिमले सत्ता र शक्तिको प्रयोग गरेर यसको चुनावलाई अपवित्र पार्ने काम, साथीहरुलाई पाखा लगाउने काम, जो भएको छ । हामी त्यसको विरोध गर्न चाहन्छौं । यस किसिमले देशैभरी पार्टीमा क्रियाशील सदस्यतादेखि नै धाँधली गरेर सत्ता हत्याउने कोसिस, जो गर्न खोजिएको छ । त्यो दूस्साहस हो । हामी हुन दिँदैनौं । नेपाली कांग्रेसलाई हामी लोकतन्त्रको बाटोबाट कुनै पनि हालतमा बिचलित हुन दिँदैनौं ।’

वरिष्ठ नेता पौडेलले सभापति देउवाले पार्टीको क्रियाशील सदस्यता छानबिन गर्ने काममा समेत देशभर धाँधली गरेको आरोप समेत लगाए । उनले पार्टीको आगामी महाधिवेशनबाट सही नेतृत्व चयन गर्नेगरी अघि बढ्न पनि पार्टीका नेता, कार्यकर्तालाई आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?