काठमाडौं, १ वैशाख – नयाँ वर्षको अवसर पारेर हिजोदेखि नेपालभरका सिनेमा हलमा प्रदर्शन थालेको चलचित्र ‘लिलिबिली’ मा प्रदीप खड्काको क्रेज देखिएको छ । शुक्रवार काठमाडौंमा मल्टिप्लेक्स तथा सिंगल थिएटरमा हलमा दर्शकको बाक्लो चाप देखियो ।शनिवार यसै पनि राम्रो व्यापार हुने दिन भएपनि आज भने नयाँ वर्षले विशेष भूमिका खेल्यो । फिल्मको टिकट लिन पनि लाइन लाग्नुपर्ने अवस्था आयो । काठमाडौंका धेरैजसो हलमा चलचित्र लिलिबिलीले आक्रामक व्यापार गरेको छ । हलमा धेरै दर्शक परिवारसहित लिलिबिली हेर्न आएका थिए । उक्त चलचित्र युवापुस्ताको रोजाइमा पनि परेको छ ।त्यस्तै नयाँ वर्ष उद्घाटनको दिन चौथो हप्तामा प्रवेश गरेको चलचित्र ‘शत्रु गते’ ले पनि राम्रो व्यापार गरेको छ । सिंगल थिएटरमा लिलिबिलीसँगै चलचित्र ‘शत्रु गते’ हेर्न आउने दर्शक पनि उत्तिकै भेटिए । कमेडी जानराको चलचित्र खासगरी विवाहित परिवारको रोजाइमा परेको छ । प्रदीप खड्काको लिलिबिली भने युवापुस्ताले रुचाएका छन् ।काठमाडौंको बालाजुस्थित अष्टनारायण हलमा दर्शकको चाप अत्यधिक देखिएको थियो । टिकट काट्नेको र फिल्म हेर्न लाइनमा बस्नेको लस्कर लामो थियो । लिलिबिलीले प्रदीपको क्रेजलाई फेरि एकपटक झल्काएको छ । अन्य हलमा पनि फिल्म हेर्ने दर्शक दोहोरिएका छन् ।कस्तो छ लिलिबिली?चलचित्र ‘लिलिबिली’ एउटा प्रेमकथामा आधारित चलचित्र हो, जुन चलचित्र पूरै विदेशमा शूटिङ गरिएको छ । स्कटल्याण्डका विभिन्न स्थानमा छायांकन गरिएको चलचित्रमा प्रदीप खड्का र जसिता गुरुङ मुख्य भूमिकामा छन् । यी दुई जोडीको कथा नै फिल्मको कथा हो । एक यात्रामा भेटिएका यी दुईबीच हुने प्रेम र विछोडको कथा नै फिल्मको मुख्य कथा हो । यो एक विशुद्ध प्रेमकथा हो, जुन कथालाई केही हदसम्म मसालेदार बनाउन खोजिएको छ ।चलचित्रमा प्रदीप र जसिताका अलावा सविन श्रेष्ठ, प्रियंका कार्की लगायतका कलाकारले पनि अभिनय गरेका छन् । फिल्ममा विदेशी कलाकारको पनि सानोतिनो भूमिका देख्न सकिन्छ ।के छ शत्रु गतेमा?प्रायः सबै सानो पर्दाका कलाकारलाई लिएर निर्माण गरिएको चलचित्र ‘शत्रु गते’ कमेडी चलचित्र हो । चलचित्रमा प्रेमी प्रेमिका बिहे गराउने पक्का भइसकेको हुन्छ तर विविध कारणले दुई पात्रको बिहे भाँडिन्छ । यही बिहे गराउने र गर्न नदिने दुई तत्वका आधारमा चलचित्रलाई कमेडी तरिकाले अगाडि बढाइएको छ ।फिल्ममा पल शाह र आँचल शर्मा जोडीका रुपमा छन् भने हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, दीपकराज गिरी, शिवहरि पौडेल, दीपाश्री निरौला, प्रियंका कार्की लगायतका कलाकारले अभिनय गरेका छन् । चलचित्रलाई प्रदीप भट्टराईले निर्देशन गरेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया