दिदीको दीर्घायुका लागि अट्वारी

लोकपथ
1.6k
Shares

शेरबहादुर ऐर, धनगढी । थारु समुदायको माघि पर्वपछिको विशेष पर्व हो अट्वारी । विवाहित दिदीबहिनीको दीर्घायू, सु–स्वास्थ्य एवं सुखमय जीवनको कामनासहित पुरुषहरु निराहार व्रत बस्ने गर्छन् । केही महिलाहरु पनि स्वच्छाले व्रत बस्ने गर्छन् ।

आइतबार मनाइने अट्वारी पर्व विगतमा भदौदेखि दसैंसम्मको सबै आइतवार व्रत बसेर मनाइने गरिन्थ्यो । हाल भने कुसे औंसीदेखि पाच आइतबार मनाइन्छ र पर्व भने अचेल दुई दिन मात्रै मनाइन्छ ।

गत वर्ष कोभिड–१९ ले जारी निषेधाज्ञाका कारण अट्वारी पर्व मनाउन नपाएका कैलाली र कञ्चनपुरलगायत पश्चिम नेपालका थारु समुदायले यस वर्ष भने हर्सोल्लासका साथ अट्वारी मनाइरहेका छन् ।

‘स्वास्थ्य अवस्था खराब हुँदा तीन वर्षदेखि व्रत बस्न सकेको थिइनँ । यो वर्ष त अट्वारी व्रत बसेको छु,’ थारु अगुवा माधव थारुले भने ।

अट्वारी पर्वमा थारु समुदायले निराहार व्रत बसेर दुई दिनसम्म मनाउँदै सूर्यको उपासना गर्ने गर्दछन् । व्रतालुले शनिबार मध्यरातमा भाले नबास्दै दर खाने चलन छ । दर खाएकाहरु पहिलो दिन अर्थात् आइतबार मध्यान्हसम्म पानीसमेत नखाइ व्रत बस्ने गर्दछन् ।

मध्याह्नमा नुहाइधुवाइ गरी व्रतालुहरुले गुइँठामा बालेको अग्नीको विधिपूर्वक पूजाआजा गरी अन्दीको रोटी, फलफूल, दूधलगायतका परिकार खाने गर्दछन् ।

दोस्रो दिन बिहानै नुहाइधुवाइ गरेर व्रतालुहरुले अघिल्लो दिनजस्तै पूजाआजा गरेर पाकेका मिठामिठा परिकार खाने चलन छ । यो दिन विशेषगरी, भात, माछा, मासु, फुलौरी, खरियालगायतका परिकार खाइन्छ ।

अट्वारीको दोस्रो दिनलाई फरार भनिन्छ । व्रतालुहरुले दोस्रो दिन खाने खानाका परिकारसमेत आफूले खानुभन्दा पहिले एक भाग निकालेर छुट्टै राख्ने गर्दछन् । यसरी दुई दिनसम्म छुट्टयाएर राखेको अन्दीको रोटी, फुलौरी, खरिया, खुर्मा, फलफूल, माछालगायतका परिकार पर्वको दोस्रो दिन आफ्नो विवाहित चेलीलाई कोसेली दिने चलन छ ।

यसरी माइतीपक्षले विवाहित छोरीचेलीलाई दिइने उपहारलाई ‘अग्रासन’ भनिन्छ । अट्वारी पर्वमा विवाहित चेलीले माइतको अग्रासन नपाए दुःखी हुन्छन् भन्ने विश्वास छ । त्यसैले सकेसम्म सबै परिवारले अट्वारीको व्रत बस्ने गरेका हुन् ।

अग्नी पूजाको रुपमा सूर्यको पूजा गरेर अट्वारी पर्व मनाउने चलन रहेको थारु बुद्धिजिवी बताउ“छन् । थारु समुदाय प्रकृति पूजक रहेकाले सूर्यको प्रतीक मानेर अग्नीको पूजा गरी अट्वारी पर्व मनाउने गरेको थारु अगुवा माधव चौधरीले बताए ।

सूर्यले ताप, शक्ति र उज्यालो दिने भएका कारण अट्वारी पर्वमा सूर्य देवताको पूजा गरेमा सुख, शान्ति र दीर्घ जीवन मिल्ने थारु समुदायको विश्वास छ ।
यसरी मनाईन्छ अट्वारी

अट्वारी, व्रत बसेर मनाउने पर्व भएकोले यसमा पनि दर खाने चलन छ । दर खानाका लागि शनिबार दिनभरि माछा मार्ने र अरु तिहुन, तरकारीको जोहो गरिन्छ । माछाको सुखौरा (सुकुटी) धेरैजसो पहिल्यै तयार गरिएको हुन्छ । अटवारीमा माछाको सुखौरा विशेष मानिन्छ ।

तर अन्य मासु भने हु“दैन । सागमा पोंइ अनिवार्य जस्तै हुन्छ । भिन्डी, टोरैं, ठुसा (मास जस्तै एक प्रकारको दाल बाली, झिलिङ्गी, सिल्टुङ) लगायतका तरकारी हुन्छ ।

बाटुलो रोटी सूर्यको प्रतीकात्मक परिकारको रुपमा लिइन्छ । यो पर्वमा रोटी अनिवार्य हुन्छ । अँट्वारीमा अन्डी र र गहुँको गरी, दुई थरीको रोटी हुन्छ भने अम्बा, केरा, तरुल, भेली मिठाइ मिसाएको मोर्साको भूजा र मिठाई पानी पनि हुन्छ ।

सूर्य आगोको मुख्य स्रोत हो । सूर्य आफैँमा अग्नी हो । त्यसैले सबैभन्दा पहिले अग्नी अथवा सूर्यलाई प्रसादको रुपमा आगो दिने चलन छ । अर्को दिन सोमबार, ‘फर्हार’ गरिन्छ । फर्हार नहुँदासम्म पानी समेत नखाएर निराहार वर्त बस्नु पर्छ । फर्हार अटवारीको अन्तिम पूजा हो । यस दिन व्रतालुहरु बिहानैदेखि खानपिनको तयारीमा जुटेका हुन्छन् ।

यो पर्व भातृत्वप्रेम र सद्भावको पर्वको रुपमा पनि लिने गरिन्छ । लामो समयसम्म आफ्नो माइत जान नपाएका चेलीबेटीहरु यस पर्वमा आफ्ना दाजु भाइ तथा परिवारसँग भेट्न पाउँछन् । अट्वारीको सामाजिक महत्व रहेको धनगढी उपमहानगरपालिका वडा नम्बर ५ जाइका विनय चौधरी बताउँछन् । उनका अनुसार अट्वारीले विवाहित छोरी तथा उनको परिवार र माइती पक्षबीचको सम्बन्धलाई सुदृढ बनाउन भूमिका खेलेको हुन्छ ।

किन मनाइन्छ अट्वारी

प्रकृतिपूजक थारू समुदायमा खास गरेर यो पर्व सूर्यको पूजा गरेर मनाइन्छ । आइतबारलाई रविबार पनि भनिन्छ । रवि भनेको सूर्य (सुरज) अथवा अग्नी । काल रात्रीमा सूर्यको जन्म भएको हो र संसार उज्यालो भएको हो भन्ने किम्वदन्ती अनुसार सूर्यले गर्दा मान्छे मात्रै होइन यस पृथ्वीमा बस्ने हरेक प्राणीको जीवन सहज भएको विश्वासका आधारमा पर्व चलेको मानिन्छ ।

पर्वको अर्को मिथक महाभारतसँग जोडिएको छ । पाँच पाण्डवमध्ये सबैभन्दा बलिया भीम थिए । कौरव र पाण्डवको लडाईंका बेला उनी रोटी पकाउँदै थिए । लडाइँ चरमोत्कर्षमा पुगेका बेला उनी पकाउँदा पकाउ“दैको रोटी तावामै छोडेर लडाईंमा हिँडे । लडाइँबाट फर्किंदा उनी भोकाएका थिए । तावाको एकापट्टी मात्र पाकेको रोटी खाएर पेट भरे । सोही किम्वदन्तअनुसार अट्वारीमा पकाइने रोटी एक पट्टी मात्र पकाइन्छ । र, अट्वारीमा भीमलाई पूज्ने गरिन्छ ।

अटवारी कृष्ण अष्टमीपछिको दोस्रो आइतबार अर्थात् कुशे औंशी पछिको पहिलो आइतबार मनाउने गरिन्छ । अटवारी, कुशे औंसीको पहिलो आइतबार ‘बर्का अटवारी’ को रुपमा मानिन्छ भने त्यसपछिको चार आइतबार आंशिक रुपमा छुट्की अट्वारी व्रत बस्ने गरिन्छ ।

यसरी बर्का र छुट्की गरी पा“च आइतबार ‘अट्वारी’ व्रत बस्ने थारु समुदायमा पुरानो चलन रहेको छ । ‘पाँच अट्वारी’ पछि दशैं आउँछ । रुपन्देहीका साहित्कार बमबहादुर थारूले ‘रुपन्देहीको थारू समाज र संस्कृति’ भन्ने आफ्नो पुस्तकमा कुशे औंसीको आठौं दिनपछिको आइतबारलाई बर्का अटवारी मान्ने कुरा उल्लेख गरेका छन् ।

रुपन्देही, नवलपरासी, चितवन लगायतका पूर्वका केही जिल्लामा मनाइने विधि प्रक्रियाहरु पश्चिमा जिल्लाभन्दा फरक छ । तर, कपिलवस्तु, दाङ देउखुरी, बाँके, बर्दिया, कैलाली, सुर्खेत र कञ्चनपुरका थारूहरुमा भने एकरुपता पाइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?