सरकारले गर्‍यो एमालेलाई वार्तामा आउन आग्रह

लोकपथ
140
Shares

काठमाडौं । सरकारले प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)लाई वार्तामा आउन आग्रह गरेको छ ।

गृहमन्त्री बालकृष्ण खाँणले संवाद, छलफल र वार्ताको माध्यामबाट संसदमा देखिएको समस्या समाधानका लागि वार्तामा आउन प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)लाई सञ्चारकर्मीमार्फत् आग्रह गरेका छन् ।

सभामुख अग्नीप्रसाद सापकोटाको भूमिकामाथि आपत्ति जनाउँदै प्रमुख प्रतिपक्ष दल एमालेले प्रतिनिधिसभा बैठक आइतबार तेस्रो दिन पनि अवरुद्ध पारेको छ । कांग्रेस नेता समेत रहेका गृहमन्त्री खाँणले संवादको माध्यामबाट ती समस्या समाधान गर्न सकिने विश्वास समेत व्यक्त गरे।

उनले संसद भवन परिसरमा संचारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा संसदमा देखिएका समस्या समाधानका लागि सभामुख अग्नीप्रसाद सापकोटाले सोमबार दिउँसो प्रमुख दलका शीर्ष नेताहरुसहितको सर्वदलीय बैठक बोलाएको जानकारी दिए ।

गृहमन्त्री खाँणले भोलि बस्ने सो बैठकले संसदमा देखिएका सबै समस्या समाधान हुने अपेक्षा समेत गरे । उनले भने, ‘म आग्रह गर्नु चाहन्छु– भएका मतभेदहरुलाई सुल्झाएर जाऊ । संवाद, छलफल र वार्ताको माध्यामबाट हामीले ठूल्ठूला समस्याहरुलाई सम्बोधन गरेका छौं । र अहिले संसदमा देखिएका समस्याहरुलाई पनि सम्बोधन गर्न सकिन्छ भन्ने नै हाम्रो विश्वास हो । आज पनि सभामुखले बोलाउनु भयो र हाम्रो कानुन मन्त्री र प्रतिपक्ष दलका माननीयहरुबीचमा संवाद भयो तर सहमती जुट्न सकेको छैन । भोली पनि सभामुखले सबै दलका नेताहरुलाई बोलाउनु भएको छ । र विश्वास गरौं–भोली समस्या समाधान हुन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?