काठमाडौं । खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा कांग्रेसको नगरसभापति पदमा युवा नेता रमेश राउतले उम्मेदवारी दिने घोषणा गरेका छन् ।
हलेसी तुवाचुङ नगरपालिका–६ मंगलटारका वडाध्यक्ष रहेका राउतले कांग्रेसको १४औं महाधिवेशन एवं नगरपालिकाको दोस्रो अधिवेशनअन्तर्गत आगामी असोज ९ गतेका लागि तोकिएको अधिवेशनमा नगरसभापतिमा उठ्ने घोषणा गरेका हुन् ।
कांग्रेस क्षेत्र नम्बर १ का सदस्य एवं हलेसी तुवाचुङ नगरपालिकाको प्रवक्ता रहेका राउतले आफ्नो प्यानल नै तयार गरेर शनिबार उम्मेदवारी घोषणा गरेका हुन् ।
२०६२ सालमा पाटन संयुक्त क्याम्पसको एकाइ समिति सदस्य बनेर २०६२–०६३ को जनआन्दोलमा सहभागी हुँदै विद्यार्थी राजनीति सुरु गरेका राउत सोही एकाइ समितिको सहसचिव हुँदै सचिव बनेका थिए । युवामाझ प्रखर वक्ताका रुपमा चिनिने राउत अधिवक्ता समेत हुन् ।
काठमाडौं बसेर विद्यार्थी राजनीतिमा संलग्न राउत स्थानीय तहको निर्वाचनमा गाउँ फर्किएका हुन् । उनलाई पूर्वराज्यमन्त्री सर्वधन राई, हलेसी तुवाचुङ नगरपालिकाकी उपमेयर विमला राई, नेविसंघका पूर्वकेन्द्रीय सदस्य दुरेन राई, पेशल राईलगायतको समर्थन छ ।
राउतको प्यानलबाट डिकुवाका दिनेश राई र राजापानीका धनकुमार खड्का नगरपालिकाको उपसभापतिमा लड्ने तयारी गरेका छन् । यस्तै, सचिवमा अर्खौलेका केशव श्रेष्ठ र दुर्छिमका फडिन्द्र राई, सहसचिवमा धितुङका लम्बर राई र जुना राईले उम्मेदवारी दिने निश्चित गरिएको छ ।
यसअघि चक्रकुमार राईले पनि आफ्नो टिमसहित उम्मेदवारी घोषणा गरिसकेका छन् । राईको प्यानललाई कांग्रेस क्षेत्रीय सभापति एवं हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राई, महासमिति सदस्य दिनेश राई, महाधिवेसन प्रतिनिधि जितेन्द्रसिं ठकुरीलगायतको समर्थन छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया