सेयर बजारमा रौनकता फर्कियो, कारोबार रकम पनि बढ्यो

लोकपथ
182
Shares

काठमाडौं । साताको पहिलो कारोबार दिन आज (आइतबार) भने सेयर बजारले उकालो यात्रा तय गरेको छ । दिनहुँजसो ओरालो लागेको बजारमा आज उत्साह देखिएको हो । आइतबार सेयर बजारमा हरियाली छाएको छ ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार आइतबार सेयर कारोबार मापक नेप्से परिसूचक ७१.४३ अंकले बढेर २९४७.४२ विन्दुमा पुगेर बजार बन्द भएको छ । आज नेप्से २.८९ प्रतिशतले बढेको हो । यता सेन्सेटिभ परिसूचक पनि १३.०३ अंकले बढेर ५४८.२९ विन्दुमा पुगेको छ ।

आइतबार कारोबार रकम पनि बढेको छ । आज कुल २३१ कम्पनीको एक करोड ७१ लाख ३३३ कित्ता सेयर खरिदबिक्री हुँदा ९ अर्ब ४४ करोड ३५ हजार २४४ रुपैयाँको कारोबार भएको छ ।

कुल १३ उपसमूहमा १२ वटा उपसमूहको सेयरमूल्य बढेको छ भने बाँकी एक समूहको सेयरमूल्य घटेको छ । आज हाइड्रोपावर समूहतर्फ लगानीकर्ताको आकर्षण देखिएको छ । यो समूहको सेयरमूल्य ६.३७ प्रतिशतले बढेको छ ।

सरकारले ठूला हाइड्रोपावर आयोजनालाई छुट सुविधा तथा सहुलियतको घोषणा गर्दै प्रतिस्थापन विधेयकमार्फत चालू आर्थिक वर्षका लागि १६ खर्ब ३२ अर्ब ८३ करोडको बजेट प्रस्तुत गरेको थियो । योसँगै आज हाइड्रोपावर समूहमा उछाल आएको छ ।

अर्थमन्त्री शर्माले शुक्रवार संसद्मा प्रतिस्थापन विधेयक प्रस्तुत गर्दै २०० मेगावाटभन्दा माथिका जलाशय तथा अर्ध जलाशय युक्त जलविद्युत आयोजनाका लागि आयोजनाले व्यापारिक कारोबार शुरु गरेको मितिले पहिलो १५ वर्षसम्म पूरै र त्यसपछिको ६ वर्षसम्म ५० प्रतिशत आयकर छुट दिने व्यवस्था गर्ने घोषणा गरेका थिए।

त्यसैगरी, विकास बैंक, फाइनान्स, उत्पादन तथा प्रशोधन समूह, निर्जीवन बीमा कम्पनी लगायत समूहको सेयरमूल्यमा पनि राम्रै वृद्धि भएको छ

आज १० वटा कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । आज नेशनल हाइड्रोपावर कम्पनी, राष्ट्रिय बीमा कम्पनी, फर्स्ट माइक्रोफाइनान्स, अपि पावर कम्पनी,अरुण कावेली पावर, छ्याङ्दी हाइड्रोपावर पाँचथर पावर कम्पनी, लिवार्टी इनर्जी कम्पनी, सानिमा लाइफ इन्स्योरेन्स र राष्ट्रिय बीमा कम्पनीको संस्थापक सेयरको मूल्य १० प्रतिशतले बढेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?