चितवन । चितवनका सामुदायिक तथा संस्थागत विद्यालय आगामी असोज १ गतेदेखि सञ्चालन गर्ने तयारी गरिएको छ । जिल्ला सङ्कट व्यवस्थापन केन्द्रको निर्णयअनुसार यहाँ रहेका विद्यालयमा स्वास्थ्य मापदण्ड पालना गरी भौतिक रुपमा विद्यालय सञ्चालन गर्न लागिएको शिक्षा विकास तथा समन्वय एकाइले जनाएको छ ।
कार्यालयका प्रमुख भूमिलाल सुवेदीका अनुसार जिल्लामा ३४९ सामुदायिक र १७६ संस्थागत विद्यालय छन् । ती विद्यालयमा एक लाख ५६ हजार ८०० विद्यार्थी अध्ययनरत रहेको उनले जानकारी दिए ।
उनले भने, ‘एउटा कक्षामा २५ विद्यार्थी सहभागी बनाइ अध्ययन अध्यापन सुरु गर्ने तयारीमा छाैँ ।’ एउटा बेन्चमा दुई जना राख्ने गरी व्यवस्था गरिएको उनको भनाइ छ ।
स्वास्थ्य कार्यालय, स्थानीय प्रशासन, स्थानीय तह र एकाइको समन्वयमा विद्यालय खोलेर भौतिक रुपमा पठनपाठन गर्न लागिएको हो । विद्यालय सञ्चालन गर्दा प्रर्याप्त मात्रामा साबुन पानी र सेनिटाइजरको व्यवस्था गर्नुपर्ने उनले जानकारी दिए ।
उनले भने, ‘विद्यार्थीले माक्स र फेस सिल्ड आफैले व्यवस्था गर्नुपर्ने हुन्छ ।’
भरतपुर महानगरपालिका शिक्षा महाशाखाका प्रमुख महेन्द्रप्रसाद पौडेलका अनुसार महानगरमा विद्यालय सञ्चालनका लागि १५ बुद्धे मापदण्ड तयार गरिएको छ । मापदण्डअनुसार असोज १ गते कक्षा ९ देखि १२ सम्म भौतिक रुपमा सञ्चालन गर्ने, त्यसपछि एक हप्ताको अवस्थाका आधारमा कक्षा ६ देखि ८ सम्म र बालविकास कक्षादेखि कक्षा ५ सम्म क्रमशः भौतिक रुपमा उपस्थित भई विद्यालय सञ्चालन गरिने जनाइएको छ ।
एक एक हप्ताको फरकमा अवस्था हेरेर भौतिक रुपमा कक्षा सञ्चालन गर्न लागिएको हो । विद्यार्थी न्यून भएका आधारभूत विद्यालयमा अवस्था हेरी आलोपालो वा सिफ्टमा कक्षा सञ्चालन गरिने उनले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया