के हो गुठी ? यस्ता छन्, यसका प्रकार

काठमाडौं । देवी देवताको पूजाआजा, पर्व, जात्रा चलाउन वा मठ मन्दिर, देवस्थल आदिजस्ता धार्मिकस्थल वा अन्य सामाजिक परोपकारी र सांस्कृतिक कार्यको लागि दाताले आफ्नो हक छाडी राखिदिएको सम्पत्ति नै गुठी हो ।

यस्ता गुठीका प्रकार
राजगुठी
गुठी संस्थानको स्थापना हुनुपूर्व नेपाल सरकाले बन्दोबस्त र सञ्चालन गरी आएकोमा गुठी संस्थान ऐन, २०२१ को दफा २(घ) बमोजिम त्यस्ता गुठीमा नेपाल सरकारबाट संस्थानमा हक र दायित्व सर्न आई संस्थानले बन्दोवस्त र सञ्चालन गरेको गुठी नै राजगुठी हो । यसमा पनि दुई पकारका गुठीहरु रहेका छन् ।

अमानत गुठी : गुठीको सम्पूर्ण आयस्ता गुठी कोष (संस्थानको कोष)मा जम्मा गरी खर्च पनि सोही कोषबाट विनियोजित बजेटबमोजिम हुने गुठी नै अमानत गुठी हुन् ।

छुट गुठी : गुठीको आयस्ता गुठियार आफैँले उठाई लिखत तथा परम्पराबमोजिम गुठीको पूजाआजा, पर्व, जात्रा चलाई बाँकी रहेको शेष रकम राज गुठीमा बुझाउने वा गुठियार आफँैले खान पाउने गरी छुट पाएका गुठी नै छुट गुठी हुन् । यस्ता गुठीका गुठियार, महन्थ, पुजारी आदिको सम्पूर्ण हक गुठी ऐनको दफा १९ ले समाप्त गरी संस्थानमा सरेको छ ।

निजी गुठी
राज गुठीको लगतमा दर्ता नभएका तथा व्यक्ति आफैँले स्थापना र सञ्चालन गर्दै आएका व्यक्तिगत वा पारिवारिक दुनियाँ गुठीलाई निजी गुठी भनिन्छ । यस्ता गुठीको लगतसम्म संस्थानले लिन सक्ने व्यवस्था गुठी संस्थान ऐन दफा १९ (क) मा व्यवस्था गरिएको छ ।

निजी गुठीका दातासहित अघिकांश गुठियारले लिखित अनुरोध गरेमा त्यस्तो गुठी संस्थानले जिम्मा लिई सञ्चालन गर्न सक्तछ भने सामाजिक हितको लागि राखिएको निजी गुठीका गुठियारले गुठीको सम्पत्ति हिनामिना गरी धर्मलोप गरेमा गुठियारले अनुरोध नगरे पनि ऐनको दफा २०(२) बमोजिम संस्थानले आफ्नो जिम्मामा लिई सञ्चालन र बन्दोवस्त गर्न सक्ने व्यवस्था छ ।

गुठीका जग्गाको प्रकार
गुठी सञ्चालनको लागि खर्चको स्रोत जुटाउन आयस्ता आउने गरी दाताले आफ्नो हक छाडी राखिदिएका जग्गा नै गुठी जग्गा हुन् । गुठी जग्गा पाँच प्रकारका छन् ।

गुठी तैनाथी जग्गा : कोही कसैको हक नभएको देवस्थल, बाग, बगैँचा, पोखरी, पाटी, पौवा रहेका क्षेत्रका जग्गा र संस्थानले बाली ठेक्का, बहाल आदिमा दिन वा लिलाम गरी बिक्री गर्न सक्ने जग्गा नै गुठी तैनाथी जग्गा हो ।

गुठी अधीनस्थ जग्गा : दर्तावालाले गुठीमा कुत बुझाउनुपर्ने जग्गा अर्थात् मोही लागेका गुठी जग्गा नै गुठी अधीनस्थ जग्गा हुन् । यस्ता जग्गामा दर्तावाला र जोताहा मोही भएमा दर्तावालाको सम्पूर्ण हक समाप्त भई खास जोताहा किसानले प्रचलित कानुनबमोजिम मोहीयानी हक प्राप्त गर्न सक्छन् ।

गुठी रैतान नम्बरी जग्गा : दर्तावालाले गुठीमा मालपोत बुझाउनुपर्ने जग्गा नै गुठी रैतान नम्बरी जग्गा हो । यस्ता जग्गामा दर्तावालाको हक हैसियत सरकारी रैकर जग्गाका जग्गावाला सरह हुन्छ र रैकर जग्गा सरह नै मालपोत गुठीमा बुझाउनु पर्छ ।

गुठी नम्बरी जग्गा : गुठीका नाममा दर्ता भएका रैकर जग्गालाई गुठी नम्बरी जग्गा भनिन्छ । यस्ता जग्गाको मालपोत गुठीले स्थानीय निकायलाई बुझाउनु पर्छ ।

खान्गी जग्गाः ऐनमा खान्गी जग्गा भनी छुट्टै परिभाषा नगरिए पनि गुठीको निश्चित काम गरेबापत गुठीका कामदारले जोती भोग गर्न पाउने जग्गा गुठीका खान्गी जग्गा हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?