नेपालको शानदार जित, सन्दीपको उत्कृष्ट प्रदर्शन

काठमाडौं। नेपाल र पपुवा न्यूगिनी (पीएनजी)बीचको दोस्रो मैत्रीपूर्ण खेलमा नेपालले शानदार जित प्राप्त गरेको छ।

ओमानको राजधानी मस्कटस्थित अल एमिरट क्रिकेट मैदानमा भएको दोस्रो मैत्रीपूर्ण खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको थियो। नेपालका लागि रोहित पौडेलले सर्वाधिक ८६ रनको योगदान दिएका थिए।

कप्तान ज्ञानेन्द्र मल्लले ४६ तथा अलराउन्डर करन केसीले ४२ रनको योगदान दिँदा नेपालले ४९.३ ओभरमा सबै विकेट गुमाएर २३३ रनको योगफल तयार गरेको थियो।

जवाफमा २३४ रनको लक्ष्य लिएर मैदान उत्रेको पीएनजीले १९.१ ओभरमा सबै विकेट गुमाएर मात्र ८३ रन बनाउन सफल भएको थियो। पीएनजीका लागि ओपनर टोनी उराले १९ रन बनाउँदा अमिनीले १६ रनको योगदान दिएका थिए।

नेपालका लागि स्पिनर सन्दीप लामिछानेले सर्वाधिक ६ विकेट लिन सफल भएका थिए भने तिब्र गतिका बलर सोमपाल कामी, विक्रम सोब तथा सुसन भारीले समान १-१ विकेट लिएका थिए।

यस जितसँगै नेपालले दुई खेलको मैत्रीपूर्ण खेलमा २-० ले जित दर्ता गरेको छ। आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत नेपालले अब ओमान र संयुक्त राज्य अमेरिकासँग प्रतिस्पर्धा गर्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?