संसदमा प्रेम सुवालको टिप्पणी : एमसीसी पारित गर्नु जनताको लागि विष सरह हुन्छ

लोकपथ
63
Shares

काठमाडौं । नेपाल मजुदुर किसान पार्टीका सांसद प्रेम सुवालले एमसीसी सम्झौता पारित गर्नु नेपाली जनताको लागि ‘विष सरह’ हुने टिप्पणी गरेका छन् ।

नेकपा एमालेका सांसदहरुको चर्को नाराबाजीबीच शुक्रबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद सुवालले विश्वलाई नै दुःख दिने नियतका साथ आएको सो सम्झौताबारे दुविधामा नपर्न प्रतिनिधिसभाका सांसदहरुलाई समेत आग्रह गरे ।

नेपाल भ्रमणमा आएकी एमसीसी उपाध्यक्ष फातिमा सुमारप्रति संकेत गर्दै उनले अमेरिकी अधिकारीले सो सम्झौताको सम्बन्धमा सयथरी कुरा गरिरहेको उल्लेख गर्दै त्यस्ता कुरामा फस्न नहुने पनि बताएका हुन् ।

सांसद सुवालले भने, ‘अमेरिकी साम्राज्यवादले संसारलाई दुःख दिने कुरा संसारका सबै जनतालाई थाहा भएकै कुरा हो । यो यथार्थता नेपाली जनताले पनि बुझिसकेका छन । यो संघीय संसदका सबै माननीयहरु दुविधामा पर्नु आवश्यक छैन । बूढो बाघले शिकार गर्न नसकेपछि चूरा देखाउने र झम्टने कथा हामी सबैलाई थाहा छ । विष भनि थाहा पाईकन खाए के हुन्छ ? एमसीसी त्यही हो । अमेरिकी अधिकारीहरुले सय थरी कुरा गर्दैछन । हामी उनीहरुका सयथरी कुरामा फस्नु हुन्न ।’

सांसद सुवालले राष्ट्रघाती एमसीसी सम्झौताको विरोधमा प्रर्दशन गर्दा आफ्ना पार्टीका कार्यकर्तामाथि प्रहरीले दमन गरेको भन्दै सरकारको चर्को आलोचना पनि गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?