अझै टुंगिएन १९५० को सन्धिको विवाद

काठमाडौँ, १ बैशाख- नेपाल र भारतबीच भएका सबै सन्धि–सम्झौता पुनरावलोकन गरी सुझाब दिन गठित प्रबुद्ध व्यक्ति समूह (इपिजी)को आठौँ बैठकमा पनि १९५० को सन्धि प्रतिस्थापनको विषय टुंगिएन । दिल्लीस्थित इपिजी सचिवालय रहेको रक्षा अध्ययन एवं विश्लेषण संस्थान (आइडिएसए)मा बिहीबार र शुक्रबार करिब आठ घन्टा छलफल भएको थियो ।‘१९५०को सन्धिका विषयमा अझै छलफल गर्नुपर्ने र समान धारणा बनाउनुपर्नेछ, यथास्थितिमा सन्धि नरहने त स्पष्ट छ, तर सन्धिले कुन स्वरूप लिन्छ भन्ने तय हुन बाँकी छ,’ इपिजीका नेपाल संयोजक डा. भेषबहादुर थापाले दिल्लीबाट टेलिफोनमा भने । उनले यो सन्धि टुंगिएपछि अन्य विषयमा धेरै समस्या नहुने निष्कर्ष पनि सुनाए ।स्रोतका अनुसार नेपालले पेस गरेको सन्धिमा उल्लेखित दुवै देशका नागरिकले पाउने राष्ट्रिय व्यवहारको विषयमा सहमति जुट्न सकेको छैन । यसबारे भारतीय पक्षले मौखिक धारणा मात्रै राखेको र आगामी बैठकमा लिखित रूपमै धारणा ल्याएपछि छलफल गरेर टुंग्याउने सहमति भएको छ ।अर्को बैठक जेठ १८ देखि २० सम्म काठमाडौंमा बस्ने सहमति पनि बैठकले गरेको इपिजीका सदस्य डा. राजन भट्टराईले जानकारी दिए, नयाँ पत्रिकामा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?