मेस्सीको कीर्तिमानी ह्याट्रिकमा अर्जेन्टिनाको शानदार जित

काठमाडौं। फिफा विश्वकप २०२२ अन्तर्गत कोनमेबोलको छनोट चरणको खेलमा अर्जेन्टिनाले बोलिभियालाई ३-० गोलले पराजित गरेको छ।

अर्जेन्टिनाको राजधानी ब्युनोस एयर्समा भएको खेलमा घरेलु टोलीका कप्तान लियोनल मेस्सीले शानदार ह्याट्रिक प्रहार गर्दै पेलेको कीर्तिमान तोडेका छन्। उनले बोलिभियाविरुद्ध १४औं मिनेटमा पहिलो गोल गर्दा ब्राजिलका लेजेण्ड पेलेको ७७ अन्तराष्ट्रिय गोलको किर्तिमान बराबरी गरेका थिए।

पहिलो हाफमा १-० गोलको अग्रता लिएको अर्जेन्टिनाले दोस्रो हाफको ६४औं मिनेटमा अग्रता दोब्बर बनाएको थियो। मेस्सीले खेलमा व्यक्तिगत दोस्रो गोल गर्दै पेलेको दक्षिण अमेरिकी महादेशमा सर्वाधिक गोलकर्ताको कीर्तिमान तोडेका थिए।

त्यसपछि मेस्सीले खेलको ८८औं मिनेटमा आफ्नो ह्याट्रिक पूरा गरे। यससँगै मेस्सीको अन्तराष्ट्रिय गोल संख्या ७९ समेत पुगेको छ। खेलमा अधिकांश समय राम्रो पकड जमाएको अर्जेन्टिनाले कुल २४ शट प्रहार गरेको थियो।

यस जितसँगै अर्जेन्टिना अंक तालिकाको दोस्रो स्थानमा बलियो देखिन्छ। अर्जेन्टिनाको ८ खेलमा १८ अंक रहेको छ भने शीर्ष स्थानमा रहेको ब्राजिलको ८ खेलमा २४ अंक रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?