काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा अवैधानिक किसिमले एक पक्षीय रुपमा नेपाली कांग्रेसको वडा अधिवेशन शुक्रबारदेखि सुरु हुने संकेत देखिएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले गृहजिल्लाको अधिवेशन सार्ने सार्वजनिक अभिव्यक्ति दिए पनि निर्वाचन अधिकृत लोकेन्द्रबहादुर बमले बिहीबार एक विज्ञप्ती प्रकाशित गर्दै शुक्रबार निर्धारित वडा अधिवेशन नरोकिने दाबी गरेका छन् । उनले सबै वडामा निर्वाचन सामग्री पुगिसकेको र मतदान अधिकृत खटाई सकेकाले अधिवेशन स्थगित नहुने जिकिर गरेका छन् ।
नेपाली कांग्रेस डडेल्धुरा जिल्ला कार्यसमितिले वडा, पालिका र प्रदेश सभा निर्वाचन क्षेत्रीय समितिका साथै जिल्ला कार्यसमिति गरेर चार तहबाट क्रियासिल सदस्यहरुको नविकरण र नयाँ सदस्यताका लागि निर्णय गरेर केन्द्रमा पठाए पनि केन्द्रबाट चार सय ६० जनाको नाम काटेर नाम नपठाएका तीन सय १२ जनाको नाम थपेर मतदाता नामावली सार्वजनिक भएपछि विवाद उत्पन्न भएको हो ।
नेपाली कांग्रेस डडेल्धुराले विधि र पद्दती मिचेर मतदाताका रुपमा रहेका क्रियासिल सदस्य मात्रै नभई जिल्लादेखि वडास्तरका उम्मेदवारहरु समेत केन्द्रबाटै तोकेर उनीहरुलाई जिताउने दुराषयले मतदाता नामावली सार्वजनिक भएको भन्दै सदस्यता विवादको टुंगो नलागेसम्मका लागि अधिवेशनका कार्यक्रम स्थलगन गर्ने निर्णय गरेको छ । जिल्ला कार्यसमितिको निर्णय विपरित मतदान अधिकृत बमले एकलौटी रुपमा निर्वाचनको कार्यतालिका सार्वजनिक गर्दै प्रकृया अघि बढाएका छन भने नेपाल प्रहरीको तालिम केन्द्र र दंगा प्रहरी गणबाट ठुलो संख्यामा प्रहरी डडेल्धुरा झिकाईएको छ । प्रहरीको बलमा सत्ताको दुरुपयोग गर्दै पार्टीको अधिवेशन गरिनु निकै दुभाग्र्य भएको भन्दै जिल्लास्तरीय नेता कार्यकर्ताहरुले तिब्र रोष ब्यक्त गरेका छन । नेपाली काँग्रेस डडेल्धुराले स्थगित वडा अधिवेन एकलौटी रुपमा अवैधानिक किसिमले अघि बढाईनु निकै दुर्भाग्य भएको जनाएको छ ।
प्रधानमन्त्री तथा पार्टी सभापति देउवाले गृहजिल्लामा उत्पन्न विवादको समाधान गरेर मात्रै जिल्लामा अधिवेशन अघि बढाईने भने पनि एकपक्षीय रुपमा निर्वाचनको प्रकृया थालिएकोले वहिष्कार गरिने नेपाली काँग्रेस डडेल्धुराका पुर्व सचिव लोकराज भट्टले बताए । उनले लोकतन्त्रका लागि लडेको पार्टीमा अलोकतान्त्रिक कृयाकलापहरु भईरहेको बताउँदै यस किसिमका कृयाकलापहरुको सामना गर्न सबै कांग्रेसजनलाई अपिल गरेका छन् ।
नेपाली कांग्रेस डडेल्धुराका उपसभापति करुणाकर भट्टले क्रियासिल सदस्यता विवादको टुंगो नलगाएर एकपक्षीय रुपमा वडा अधिवेशनको प्रकृया अघि बढेमा बहिष्कार गर्न सम्पुर्ण क्रियासिल सदस्यहरुलाई आग्रह गरे । उनले विधान विपरित जिल्ला कार्यसमिति, प्रदेश, स्थानीय तह र वडा कार्यसमितिलाई वेवास्ता गरेर निर्वाचन प्रकृया अघि बढेमा सामानान्तर कार्यसमिति गठन गरेर अघि बढनुको विकल्प नभएको जिकिर गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया