उत्कृष्ट पहिलो हाफको प्रदर्शनमा बंगलादेशमाथि नेपालको जित

काठमाडौं। नेपाल र बंगलादेशबीच भएको पहिलो मैत्रीपूर्ण खेलमा आयोजक राष्ट्र नेपालले बंगलादेशलाई २-१ गोलले पराजित गरेको छ।

हिन्दू महिलाहरुको ठूलो चाड हरितालिका तीजको दिन खेलिएको नेपाली राष्ट्रिय महिला टोली र बंगलादेशी राष्ट्रिय महिला टोलीको खेलमा नेपाली चेलीहरुले जित आफ्नो पक्षमा पार्न सफल भएका हुन्। नेपाली चेलीको जितमा सबिता राना र प्रिती राईले गोल गरेका थिए।

नेपाली राष्ट्रिय टोलीका लागि डेब्यू गरेका फरवार्डद्वय सबिता राना र प्रिती राईले पहिलो हाफमा गोल गरेका थिए। नेपाली राष्ट्रिय टोलीकी सर्वाधिक गोलकर्ता सावित्रा भण्डारीको स्थानमा मैदानमा उत्रेकी सबिताले खेलको १४औं मिनेटमा हेडर गोल गर्दै नेपाललाई अग्रता दिलाएकी थिइन्।

त्यस्तै प्रितीले खेलको २३औं मिनेटमा शानदार गोल गर्दै नेपालको अग्रता दोब्बर बनाइन्। पहिलो हाफमा सहज अग्रता लिएको नेपालले दोस्रो हाफमा भने गोल खान पुगेको थियो।

May be an image of 11 people and people smiling

बंगलादेशका लागि खेलको ८२औं मिनेटमा प्रतिस्थापन भएर मैदान प्रवेश गरेकी स्ट्राइकर तोहोरा खातुनले गोल गरेकी थिइन्। तोहोराले मैदान प्रवेश गरेको १ मिनेट पनि नबित्दै गोल गरेर पाहुना टोलीको लागि पुनरागमनको आशा जीवित नै राखेकी थिइन्।

तर निर्धारित ९० मिनेटको समयमा दुवै टोलीबाट अरु गोल आउन नसक्दा नेपाली राष्ट्रिय महिला टोलीले २-१ गोलको संघर्षपूर्ण जित प्राप्त गरेको छ। यी दुई राष्ट्रबीचको दोस्रो मैत्रीपूर्ण खेल आईतवार खेलिने छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?