कांग्रेस महाधिवेशन : महामन्त्री पदमा युवा हस्तक्षेप

नेपाली कांग्रेसको १४औं महाधिवेशनका लागि नेताहरूले आफूले इच्छाएको पदमा उम्मेदवारी घोषणा गर्ने क्रम जारी छ ।

उम्मेदवारी घोषणा गर्ने सिलसिलामा कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले पनि महामन्त्रीमा दाबी गरेका छन् । उनले बिहीबार सुन्दरीजल पुगेर कांग्रेस संस्थापक नेता वीपी कोइरालाको स्मृति दिवसका अवसरमा महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

कांग्रेसको १४औं महाधिवेशनका लागि अहिले धमाधम वडा तहका अधिवेशन भइरहेका छन् । केन्द्रीय महाधिवेशन भने आगामी मंसिर ९ देखि १३ सम्म हुँदै छ ।

युवा पुस्ताबाट महामन्त्रीमा उम्मेदवारी घोषणा गर्ने शर्मा तेस्रो व्यक्ति बनेका छन् । यसअघि गगन थापा र प्रदिप पौडेलले पनि महामन्त्रीमै उठ्ने बताइसकेका छन् । शर्मा, थापा र पौडेलको उम्मेदवारी घोषणाले कांग्रेस नेतृत्वमा युवाहरूले हस्तक्षेप गर्न खोजेको स्पष्ट भएको छ ।

कांग्रेसमा महामन्त्रीमा अरु पनि आकांक्षी छन् । उनीहरूले औपचारिक रूपमा उम्मेदवारी भने घोषणा गरेका छैनन् । १४औं महाधिवेशनबाट दुई जना महामन्त्री निर्वाचित गर्ने कांग्रेसले विधानमा व्यवस्था गरेको छ । दुवै जना निर्वाचित हुनुपर्नेछ ।

अरु पनि छन् दाबेदार

युवा पुस्ताबाट शर्मा, थापा र पौडेलले उम्मेदवारी घोषणा गरिसकेको अवस्थामा महामन्त्रीमा अरु पनि आकांक्षी छन् । तर उनीहरूले औपचारिक रूपमा घोषणा भने गरेका छैनन् ।

कांग्रेसबाट हालका सहमहामन्त्री डा. प्रकाशशरण महत र केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजालले पनि महामन्त्रीमा इच्छा देखाएका छन् । गुट व्यस्थापन नगरी उनीहरू सबै जना निर्वाचनमा गए कसले बाजी मार्ला भन्न सक्ने अवस्था छैन ।

बाहिर देखिने र पार्टीको आन्तरिक राजनीति निकै फरक हुने एक कांग्रेस नेताको भनाइ छ । १३औं महाधिवेशनमा पनि थापा महामन्त्रीमै उम्मेदवार बनेका थिए तर उनी पराजित भए ।

शर्मा पनि १६औं नम्बरको केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए । उनलाई पछि देउवाले पार्टी प्रवक्तामा मनोनयन गरेका हुन् । पौडेलले भने धेरै मत ल्याएर केन्द्रीय सदस्यमा बाजी मारेका थिए ।

उम्मेदवार दिने को–कुन समूहबाट ?

महामन्त्रीमा उम्मेदवारी दिने शर्मा, थापा र पौडेल कुन–कुन प्यानलबाट उम्मेद्वार बनेका हुन् भन्ने स्पष्ट छैन । तर शर्मा पार्टी सभापति एवं प्रधानमन्त्री देउवा निकट रहेकाले उनी देउवाकै प्यानलबाट उठेका भन्ने आकलन छ ।

तर सहमहामन्त्री प्रकाशशरण महत पनि देउवा निकट हुन् । उनी पनि देउवाकै प्यानलबाट उठ्ने सम्भावना छ । यसो भएको खण्डमा शर्मा र महतमध्ये एक जनाले उम्मेदवारी छोड्नुपर्ने हुन सक्छ ।

तर कांग्रेस विधानमा २ जना महामन्त्रीको व्यवस्था रहेको हुँदा जित्ने अवस्था रहेमा दुवै देउवाको प्यानलमा पर्न सक्छन् । महतले महामन्त्री नभए उपसभापतिमा उम्मेदवारी दिन सक्छन् ।

उता थापा यसअघि १३औं महाधिवेशनमा कृष्णप्रसाद सिटौलाको प्यानलबाट महामन्त्रीमा उठेका थिए । तर थापा यस पटक वरिष्ठ नेता रामचन्द्र पौडेलको प्यानलबाट उठ्दै छन् । उनले कुन प्यानलबाट भन्ने खुलाएका छैनन् ।

पौडेल प्यानलबाट डा. मिनेन्द्र रिजाल पनि महामन्त्रीका आकांक्षी हुन् । यसमा पनि जित्ने अवस्था रहेमा दुवै जना प्यानलमा पर्न सक्छन् ।

जित्ने अवस्था नभए दुई जनामध्ये एक जनाले छोड्नुपर्ने हुन सक्छ । यो प्यानल व्यवस्थापन कसरी हुन्छ भन्नेमा निर्भर रहन्छ ।

त्यसैगरी पौडेल यस पटक सिटौला प्यानलबाट महामन्त्रीमा उम्मेदवार बन्ने तयारीमा रहेको बताइएको छ । थापा यसअघि सिटौला प्यानलमा रहेकामा उनी यस पटक भने वरिष्ठ नेता पौडेलको प्यानलमा जाने बताइएको छ ।

कांग्रेसको १४औं महाधिवेशनका लागि देउवा र वरिष्ठ नेता पौडेलले अहिलेसम्म सभापतिसहित आ–आफ्नो प्यानल घोषणा गरेका छैनन् ।

सभापतिमा उम्मेदवार बनेको घोषणा गरेका उपसभापति विमलेन्द्र निधि र कल्याण गुरुङले पनि आफू उम्मेदवार बनेको मात्रै घोषणा गरेका छन् । प्यानल बनाएका छैनन् ।

महामन्त्रीमा उम्मेदवारी दिने तीनै जना कुन प्यानलबाट भन्ने पनि अहिले नै टुंगो भने लागेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?