कांग्रेस १४ औं महाधिवेशन : सिटौलालाई सहज छैन

काठमाडाैं । नेपाली कांग्रेसमा १४औं महाधिवेशनको सरगर्मी बढिरहेको छ ।

भदौ १८ बाट वडा अधिवेशन सुरु भइसकेको छ । वडा अधिवेशन सकिनेबित्तिकै गाउँ/नगर र जिल्ला अधिवेशन हुनेछ । कांग्रेसको १४औं महाधिवेशन आगामी मंसिर ९ देखि १३ सम्म काठमाडाैंमा हुँदै छ । त्यसअघि सबै तहको अधिवेशन सम्पन्न गरिसक्नु पर्ने भएकाले पार्टीका तल्ला तहको अधिवेशन सुरु भएको हो ।

महाधिवेशनमा पार्टी सभापतिका लागि उम्मेदवारी घोषणा गर्ने क्रम पनि जारी नै छ । यो अवस्थामा कांग्रेस पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाचाहिँ के गर्लान् ? १३औं महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिएका सिटौलाले दोस्रो चरणको मतदानमा शेरबहादुर देउवालाई सभापतिमा जिताउन भूमिका खेलेका थिए ।

२०७२ फागुनमा भएको कांग्रेसको १३औं महाधिवेशनमा देउवा, रामचन्द्र पौडेल र सिटौला सभापतिका उम्मेदवार बनेका थिए । पहिलो चरणमा भएको मतदानमा सिटौलाले ३ सय २४, देउवाले १५ सय ६४ र पौडेलले ११ सय ५४ मत ल्याएका थिए ।

दोस्रो चरणमा सिटौलाले देउवालाई समर्थन गरेपछि १८ सय २२ मतका साथ देउवा सभापतिमा विजयी भए । पौडेलले १२ सय ९६ मत ल्याए ।

१३ औं महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिएका सिटौला यस पटक पनि आफू सभापतिमै उठ्ने बताउँदै आएका छन् ।

सिटौला निकट एक नेताका अनुसार उनी सभापति पदका लागि जोखना हेरिरहेका छन् । कांग्रेसको जिल्ला अधिवेशन सकिनेबित्तिकै सिटौला आफ्नो उम्मेदवारी टुंगो लगाउने सुरमा छन् ।

सिटौला देशभरका कार्यकर्तासँग उम्मेदवारी दिने विषयमा छलफल गरिरहेका छन् । उनी निकट कार्यकर्ताले उनलाई सभापतिमै उठ्न दबाब दिइरहेका ती नेताको दाबी छ ।

सिटौलाले छुट्टै टिम बनाउने
कतिपय कांग्रेस नेताले सिटौला वरिष्ठ नेता रामचन्द्र पौडेल समूहमा लागेको बताए पनि अहिले उनी कतै पनि खुलेका छैनन् । न देउवा न पौडेलतिर । उनी अवस्था हेरेर १३औं महाधिवेशनमा जस्तै यस पटक पनि छुट्टै समूह बनाएर सभापतिमा उठ्ने मुडमा रहेका उनी निकट नेताको भनाइ छ ।

त्यकारण उनी जिल्ला अधिवेशनको पर्खाइमा छन् । जिल्ला अधिवेशनमा आफू निकट को–को आउँछन् र तिनले आफ्नो उम्मेदवारीलाई कति बल पुर्‍याउँछ भन्ने लेखाजोखामा सिटौला छन् ।

सिटौलाको साथमा को–को छन् ?
सिटौलालाई साथ दिनेहरुमा केन्द्रीय सदस्यहरु गगन थापा, शिवप्रसाद हुमागाई, उमाकान्त चौधरी, प्रदिप पौडेललगायतका नेताहरु छन् । तर, थापा भने गतहप्ता पौडेल पक्षले पत्रकार सम्मेलन गर्दा उपस्थित भएकाले कतिपयले उनी पौडेल समूहबाटै महामन्त्रीमा लड्ने आकलन गरेका छन् ।

थापाले गुट परिवर्तन गरे पौडेल सिटौला पक्षबाट महामन्त्रीमा उम्मेदवार बन्नेछन् । थापा उता जाँदा सिटौला पनि पौडेल समूहमै बिलय हुने त हैनन् भन्ने अनुमान एकथरीको छ ।

अर्कोथरी अनुमानअनुसार, सिटौलाले अन्तिम समयमा यस पटक पनि १३औं महाधिवेशनको कथा दोहो¥याउन सक्छन् देउवालाई सहयोग गरेर । किनकि पार्टीका वरीष्ठ नेता रामचन्द्र पौडेलको कार्यक्षमतालाई लिएर पटक–पटक प्रश्न उठाएका सिटौलाका लागि संस्थापनइतर पक्षबाट सभापतिका दाबेदार रहेका प्रकाशमान सिंहदेखि डा. शेखर कोइरालासम्मलाई सभापति स्वीकार्न सहज पनि छैन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?