काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो संखुवासभा घटनामा अनुसन्धानका लागि जाने भएको छ । संखुवासभाको मादीमा भएको ६ जनाको हत्याको अनसुन्धानका लागि सीआईबी टोली संखुवासभाको मादी जान लागेको हो ।
घटनाको अनुसन्धान गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोली घटनास्थल मादी जानको लागि तयारी रहेको सीआईबीका प्रवक्ता प्रहरी उपरीक्षक श्यामकुमार महतोले जानकारी दिए । टोली जान तयार भएपनि तर मौसमका कारण केही ढिलाइ भइरहेको प्रवक्ता महतोले बताए ।
घटनाको प्रकृति हेर्दा जिल्ला प्रहरीले मात्र घटनाको पर्याप्त अनुसन्धान हुन नसक्ने भएपछि सङ्घीय प्रहरी कार्यालय धरानबाट तालिम प्राप्त कुकुरसहित प्रहरीको विज्ञ टोलीलाई बोलाइएको थियो । उक्त टोलीले घटनास्थलको सुक्ष्म अध्ययन गरिसकेपछि शव परीक्षणका लागि मङ्गलबार बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ ।
८५ वर्षीय बौद्धमान कार्कीको परिवारमा उक्त नरसंहार भएको हो । घरमा रहेका ७ जनामध्ये उनी मात्रै सकुशल छन् । अरू ६ जनाको भने हत्या गरिएको अवस्थामा यत्रतत्र शवहरू भेटिएका छन् । प्रहरीका अनुसार बौद्धमानकी पत्नी ८४ वर्षीया पार्वता, छोरा ५८ वर्षीय तेजबहादुर, बुहारी ५२ वर्षीया कमला तथा तेजबहादुरकी बुहारी ३२ वर्षीया रञ्जना, नाति ११ वर्षीया दीपेन र नातिनी ७ वर्षीया गोमा कार्कीको हत्या भएको हो ।
एउटै परिवारका ६ जनाको हत्या भएपछि पुरै गाउँ शोकमा डुबेको वडाध्यक्ष खेमनाथ कटुवालले बताए । “सिङ्गो गाउँमा सन्नाटा छाएको छ । कसैले पनि यस्तो दर्दनाक घटना कसरी भयो होला भनेर सोच्नसम्म सकिरहेका छैन्” उनले भने, “घटना देखेका र सुनेका छिमेकीहरू कसैको घरमा चुल्हो बलेको छैन ।” घटनाको अनुसन्धानमा स्थानीय बासिन्दा र जनप्रतिनिधिले पनि प्रहरीलाई सहयोग गरिरहेको वडाध्यक्ष कटुवालले जानकारी दिए ।
उनका अनुसार हत्या बिहान वा राति नै गरिएको हो भन्ने यकिन हुन बाँकी छ । वृद्ध अवस्थाका बौद्धमानले पनि घटनाका बारेमा आफूले थाहा नपाएको बताउनुभएको छ । मृतक सबैको शव घरबाट लगभग सय मिटरको आसपासमा भेटिएको थियो । प्रहरी र स्थानीयवासीका अनुसार तेजबहादुरको शव घरदेखि करिब ७० मिटर पर सडकको भित्तामा, पार्वतीको घरैमा सुतिरहेको अवस्थामा, कमला र रञ्जनाको घर नजिकैको खोल्सीमा र दिपेन र गोमाको घरमाथि खरबारीमा शव फेला परेको थियो ।
घटना राति भयो की बिहान अझै अन्योल
यो घटना सोमबार बिहान अथवा आइतबार बेलुका कति बेला भएको हो भन्ने अन्योल रहेको छ । स्थानीयवासी बौद्धमानका अनुसार सपरिवार बेलुका ६-७ बजेतिर खाना खाएर सुतेका थियौं । बिहान एक्कासि यस्तो देखियो अचम्मैमा परेँ । घटनामा परेकाको शवको अवस्थालाई हेर्ने हो भने तेजबहादुरले गम्बुट (जुत्ता) र कोट लगाएका छन् भने अन्य पाँच जनाले चप्पल, स्याण्डल लगाएका थिए । सो बमोजिमको प्रकृतिलाई हेर्दा घटना कतिबेला भएको हो भनेर सोझै अनुमान गर्नसक्ने स्थिति छैन ।
यो घटनालाई विश्लेषण गर्ने हो भने बेलुका खाना खाएर सुतेका चप्पल, जुत्ता नलगाएको हुनुपर्ने हो । घटना बिहानैको हो भने पनि भागदौड गर्दा जुत्ता, चप्पल उनीहरुले कसरी लगाउन भ्याए रु हत्या गरिएका ६ जनाको नै टाउँकोमा सामान्य चोट र रगत जमेको पाइएको छ ।
विभिन्न सञ्चार माध्यममा प्रकाशन र प्रशारण भएअनुसार धारिलो हतियार प्रयोग गरी हत्या गरिएको भनिए पनि त्यस्तो नभएको पाइएको हो । उनीहरुको शव घोप्टिएको अवस्थामा रहेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया