प्रदेश सरकारले मेरो वर्ष २०७५ घोषणा गर्ने

विराटनगर, ३० चैत । प्रदेश नं १ ले स्वास्थ्य प्रवद्र्धनका लागि ‘स्वास्थ्यप्रति जिम्मेवार, समृद्धिको आधार’ मूल नाराका साथ सचेतना अभियान सञ्चालन गर्ने भएको छ ।सामाजिक विकास मन्त्रालयले ‘मेरो वर्ष २०७५’ नाम दिएर नेपाल सरकारको राष्ट्रिय कार्यक्रमअन्तर्गत प्रदेश सरकारले पनि सो कार्यक्रम गर्न लागेको हो ।सामाजिक विकास मन्त्रालयले बिहीबार आठबुँदे प्रतिबद्धता सार्वजनिक गर्दै ती प्रतिबद्धता घोषणाका लागि विभिन्न कार्यक्रम गर्ने जनाएको छ ।सो अभियानको शुभारम्भ नयाँ वर्ष २०७५ वैशाख १ गते परोपकार धाममा बिहान योग शिविर सञ्चालन गर्ने र विराटनगरको कोशी अञ्चल अस्पताल चोकमा वातावरणीय सरसफाइ सचेतना कार्यक्रम सञ्चालन गर्ने सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाका प्रमुख ज्ञानबहादुर बस्नेतले जानकारी दिए ।योग शिविरको प्रदेश प्रमुख डा गोविन्दबहादुर तुम्बाहाङ, वातावरणीय सरसफाइ अभियानको सामाजिक विकास मन्त्री जीवन घिमिरे र मेरो वर्ष अभियानको घोषणा प्रदेश नं १ प्रदेशका मुख्यमन्त्री शेरधन राईले गर्ने कार्यक्रम रहेको छ ।सरकारले स्वास्थ्यप्रति जिम्मेवार रहनका लागि घोषित आठवटा प्रतिबद्धतामा ‘म तनावरहित जीवन व्यतित गर्छु’ ‘म ट्राफिक नियमको पालना गर्छु’ ‘म आफ्नो घर र समुदाय सफा राख्छु’ ‘म रक्सी, चुरोट र सुर्तीजन्य पदार्थ खान्न’ ‘म नियमित व्यायाम गर्छु’ ‘म स्वस्थ र पोषिलो खाना खान्छु’ ‘म नियमित स्वास्थ्य जाँच गराउँछु’ ‘म मेरो परिवार र समुदायको स्वास्थ्यप्रति सजग रहन्छु’ लगायत छन् । सो प्रतिबद्धतामा सर्वसाधारणलाई एक्यबद्धता गराउनका लागि अभियान थालिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?