ओलीले भने – सभामुखलाई यथास्थितिमा मानेर जान सकिँदैन

लोकपथ
182
Shares

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सभामुख अग्निप्रसाद सापकोटाले एमाले विभाजन गराउन भूमिका खेलेको भन्दै सभामुखलाई यथास्थितिमा मानेर जान नसकिने बताएका छन् ।

बुधवार नयाँ बानेश्वरस्थित संसद् भवनमा बसेको एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सभामुख सापकोटा एमाले फुटाउने आपराधिक, असंवैधानिक र गैर कानुनी काममा संलग्नता रहेको भन्दै आफूहरू सभामुखलाई निष्पक्ष रूपमा मानेर अगाडी बढ्न नसक्ने बताएका हुन् । उनले सभामुखको एमाले विरोधी गतिविधिको विरुद्धमा एमालेको गम्भीर प्रश्न रहेको उल्लेख गर्दै सभामुखलाई निष्पक्ष मानेर संसद् चल्न नसक्ने पनि स्पष्ट पारे ।

उनले भने, ‘सभामुखको सम्मानित पदको अत्यन्तै अपमान गर्दै, त्यसको मर्यादाको खिल्ली उडाउँदै, एउटा पार्टी विशेषको कार्यकर्ता, एउटा गठबन्धनको कार्यकर्ताको रूपमा र प्रमुख प्रतिपक्षी पार्टीको विरोधीको रूपमा, नेकपा एमालेको विरोधीको रूपमा, एमाले पार्टी फुटाउनका लागि आपराधिक, असंवैधानिक, गैर कानुनी काम गर्ने मान्छे सभामुख हुनुहुन्छ अहिले । अब त्यस्तो मान्छेलाई सभामुख मानेर सभामा हामी खुरुखुरु कसरी चलाउने भन्ने गम्भीर प्रश्न छ । जो एमाले सिध्याउन खोज्छ, उसलाई निष्पक्ष तपाईं पदको गरिमा अनुसार नै हुनुहुन्छ । निष्पक्ष हुनुहुन्छ । तपाईंको निष्पक्षतामा सभामुख मानेर चलाउन हामी विश्वस्त छौँ भनेको होइन र ? जब हामीलाई सिध्याउन खोजिराखेको छ भने जानीजानी हामी निष्पक्षतामा विश्वस्त कसरी हुन सक्छौँ । त्यसकारण हामी सभामुखका एमाले विरोधी, प्रतिनिधिसभा नियमावली विरोधी, संसदीय प्रचलन विरोधी ती कुराहरूको कारणले सभामुखको निष्पक्षता होइन, निष्पक्षता रहेन । गठबन्धनको पक्षधर रह्यो । प्रष्ट रूपमा एमाले विरोधी भूमिका रह्यो । एमाले फोड्ने षडयन्त्रमा सरिक भएको र आफ्नो पाटोबाट महत्त्वपूर्ण भूमिका खेलेको देखियो । यसकारण सभामुखको सम्बन्धमा हाम्रो गम्भीर प्रश्न रह्यो । तसर्थ सभामुखलाई यथास्थितिमा मानेर जानसक्ने अवस्था रहेन ।’

अध्यक्ष ओलीले नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल लगायतका पूर्व एमालेका १४ जना सांसदलाई पार्टीबाट निष्कासन गरिएको भन्दै संसद् बैठकमा ती गैर सांसदहरूको उपस्थिति आफूहरूलाई मान्य नहुने पनि बताउनुभयो । सभामुखले कसैलाई सांसदबाट निष्कासन गर्ने र कसैलाई नगर्ने पक्षपातपूर्ण व्यवहार गरेको भन्दै उनले माधव नेपाल लगायतका सांसदहरू बैठकमा आउने भए रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी, प्रभु शाह, लेखराज भट्ट र गौरीशङ्कर चौधरी लगायतका सांसदहरू पनि संसद् बैठकमा आउन पाउनुपर्ने बताए ।

उनले दार्चुलामा भारतीय पक्षले तुइनबाट खसालि जयसिंह धामीको मृत्यु भएको भन्ने छानबिन समितिको प्रतिवेदन आइसक्दा पनि सरकारले यस विषयमा बोल्न रोक लगाएको भन्दै जनताको जीउधनको बारेमा बोल्न रोक लगाउने वर्तमान गठबन्धन सरकार भत्काउने पनि बताए । उनले भने, ‘जयसिंह धामी तुइनबाट खसाएर मारिए । यो प्रतिवेदनले भनेको कुरा हो । प्रतिवेदनले त्यो बोल्छ । सरकार भन्छ यस सम्बन्धमा बोल्नु हुँदैन । देशको बारेमा, देशका नागरिकको बारेमा, देशका जनताको जीउधनका बारेमा बोल्न डराउने, यो तानाशाही चल्दैन । यस्ता गठबन्धनहरू भत्काइन्छ तर यो तानाशाही चल्न दिइँदैन । जनताको पक्षमा बोल्न पनि नपाउने ? किन म¥यो हाम्रो नागरिक ? किन मारियो हाम्रो नागरिक भन्न पनि नपाउने ?’

अध्यक्ष ओलीले संसदमा संसदमा देशको सिङ्गो प्रणाली, लोकतन्त्र, देशको अस्तित्वको सम्बन्धमा छलफल केन्द्रित हुने भन्दै मूल मुद्दामा मात्रै केन्द्रित हुन सांसदहरूलाई निर्देशन दिए । आफूहरू गम्भीर राजनीतिक लडाइँमा रहेको भन्दै उनले संसद्लाई एकलौटी खेल मैदान बन्न नदिने पनि बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?