काठमाडौं । भारतमा गत २४ घण्टामा भारतमा थप ३७ हजार ८७५ जना नयाँ संक्रमित थपिए पनि कोरोनाभाइरसबाट दैनिक संक्रमितको संख्यामा फेरि कमी आएको बताइएको छ ।
यसअघि दैनिक ४० हजारभन्दा बढी संक्रमित थपिने गरेकामा अहिले घटेर ३८ हजारको हाराहारी पुगेको अधिकारीले बुधबार जानकारी दिएका छन् । पछिल्लो समय केरला राज्यमा दैनिक संक्रमितको संख्या एकाएक बढेपछि देशभरीको संख्यामा पनि वृद्धि देखिएको थियो ।
केन्द्रीय स्वास्थ्य मन्त्रालयले बुधबार बिहान सार्वजनिक गरेको विवरणअनुसार गत २४ घण्टामा थपिएका संक्रमितमध्ये केरला राज्यमा मात्रै २५ हजार ७७२ जना संक्रमित भएका छन् ।
भारतमा अहिलेसम्म कुल संक्रमितको संख्या तीन करोड ३० लाख ९६ हजार ७१८ पुगेको मन्त्रालयले बुधबार जनाएको छ ।
भारतमा कोरोना भाइरसका कारण अहिलेसम्म चार लाख ४१ हजार ४११ जनाको मृत्यु भएको छ । तीमध्ये ३६९ जनाको पछिल्लो एक दिनमा मृत्यु भएको हो ।
त्यसैगरी एक दिनमा ३९ हजार ११४ जना कोरोना भाइरसबाट संक्रमणमुक्त भएका छन् । कोरोना शुरु भएदेखि हालसम्म भारतमा तीन करोड २२ लाख ६४ हजार ५१ जना यस रोगबाट मुक्त भएका सरकारी अधिकारीले जानकारी दिएका छन् । कोरोना मुक्त भएका यो संख्या ९७.४८ प्रतिशत भएको बताइएको छ ।
पछिल्लो केही दिनदेखि संक्रमित अवस्थामै रहेकाको संख्यामा पनि वृद्धि भएको छ । बुधबार प्राप्त समाचारअनुसार हाल भारतमा सक्रिय संक्रमित संख्या तीन लाख ९१ हजारभन्दा बढी रहेका छन् ।
यहाँ कोरोना शुरु भएदेखि हालसम्म ५३ करोड ४९ लाख व्यक्तिको कोरोना परीक्षण भएको सरकारी तथ्याङ्क रहेको छ ।
भारतमा गत जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको थियो । सो समयदेखि हालसम्म ७० करोड ७५ लाख ४३ हजार १८ डोज खोप लगाएको अधिकारीले जानकारी छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया