चाडबाडसँगै बजारमा सुनको अभाव : ‘ब्ल्याक’को सुनले बजार धान्दै

चाडबाड नजिकिएसँगै बजारमा सुनको अभाव भएको छ ।

अहिले तीजका लागि पनि बजारमा प्रशस्त सुन छैन । तीजका लागि गरगहना बनाउन एक÷डेढ महिनाअघि नै सुन आवश्यक पर्छ । वाणिज्य बैंकले ल्याउने २० केजी सुनले बजार धान्न नसक्दा बजारमा सुनको हाहाकार भएको छ ।

तीज नजिकिएसँगै बजारमा सुनको कारोबार बढेकाले अभाव हुन थालेको हो । अहिले व्यवसायीहरूले ब्ल्याकमै भए पनि सुन किनेर बेच्न बाध्य छन् । ‘अहिले हामी ब्ल्याकमा सुन किनेर पुरानो मूल्यमा बेच्न बाध्य छौँ’, सुनचाँदी व्यवसायी महासंघका संस्थापक अध्यक्ष मणिरत्न शाक्यले भने ।

अहिले बैंकमा सुनको स्टक पनि कम भएको तथा बजारमा माग बढी भएकाले बजारमा सुनको अभाव देखिएको शाक्यले बताए । अहिले बजारमा पर्याप्त सुन नहुँदा साढे ३ हजार रुपैयाँसम्म बढी मूल्य तिरेर पुरानो मूल्यमै उपलब्ध गराउनु परेको उनले बताए । सरकारले सुनको आयात कम गर्ने तर बजारमा माग बढी हुँदा बजारमा सुनको हाहाकार भएको छ ।

पछिल्लो समय कोरोनाका कारण सुनको खरिदबिक्री घटे पनि सामान्य अवस्थामा बजारमा दैनिक ३० देखि ३५ किलोको सुनको माग हुन्छ । चाडबाड तथा विवाहको लगनका बेला ५० देखि ६० किलोको हाराहारीमा नेपाली बजारमा सुनको खपत हुन्छ ।

तर सुन आयातको अवस्था हेर्ने हो भने कहिल्यै बजार धानेको देखिँदैन । यस अवस्थामा वाणिज्य बैंकले ल्याउने सुनले बजार माग धान्न सक्ने देखिँदैन । कोरोनाका कारण दुबईमा नियमित उडान नहुँदा पनि सुन आयात प्रभावित हुँदा नेपाली बजारमा सुन अभाव देखिएको छ ।

१ सय ३७ केजी मात्रै सुन स्टक

अहिले बैंकसँग पनि सुनको मौजात कम छ । त्यसैले बजारमा सुनको हाहाकार भएको छ । नेपाल बैंकर्स संघका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनिल शर्माले बैंकमा सुनको स्टक कम भएको बताए । उनका अनुसार अहिले बैंकहरूसँग स्टकमा १ सय ३७ केजी सुन मात्रै छ ।

सुनको कारोबार बढ्यो

नेपाली नारीहरूको महान चाड तीज नजिकिएसँगै सुन बजारमा सुधार आएको छ । अहिले बजारमा सुन किन्नेको चहलपहल बढेको छ । हरेक वर्षको तीजमा ५०÷६० केजीको हाराहारीमा सुनको बिक्री हुनेगरेको छ ।

तीज, दशैँ, तिहारलगायतका चाडबाडमा ५०÷६० केजीको हाराहारीमा सुनको बिक्री हुने गर्छ । तर यसपाली भने कोरोनाका कारण केही कमी आएको छ । तर कोरोनाले पूर्ण रूपमा ठप्प बनाएको सुन बजारमा अहिले केही सुधार आएको हो ।

अहिले २५ केजीको हाराहारीमा मात्रै सुनको कारोबार भएको छ । अघिल्लो वर्ष देखि सुरु भएको कोरोना भाइरसका कारण थला परेको सुन बजारमा अहिले केही सुधार आएको हो । त्यसैले बजारमा चहलपहल बढेको देखिएको ।

अघिल्ला वर्षहरूमा तीजमा निकै राम्रो कारोबार हुनेगरेको भए पनि यसपाली कोरोनाका कारण बजारमा उत्साह आउन नसकेको सुनचाँदी व्यवसायी महासंघका संस्थापक अध्यक्ष तथा विशिष्ट सदस्य मणिरत्न शाक्यले भने ।

पहिलेको जस्तो कारोबारमा उत्साह नभएको भए पनि केही सुधार भने आएको छ । भदौ सुरु भएपछि दैनिक सुन बजारमा चहलपहल बढेको छ । यो वर्ष निषेधाज्ञा हटेसँगै सुन बजारमा केही मात्रामा भए पनि रौनक बढेको छ ।

सुनको कोटा बढाउन माग

चाडबाडबका बेला सुनको बढी खपत हुने भन्दै सुनचाँदी व्यवसायी महासंघले सुनको कोटा बढाउन माग गर्दै आएको छ । दैनिक २० किलोको कोटाले सुनको माग धान्न नसकेपछि व्यवसायीले पटक–पटक नेपाल राष्ट्र बैंकसँग सुनको कोटा बढाउन माग गर्दै आएका छन् । तर राष्ट्र बैंकले भने कोटा बढाउने विषयमा चासो देखाएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?