डडेल्धुरा । नेपाली कांग्रेसको क्रियासिल सदस्यता वितरणमा प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवाले गृहजिल्ला डडेल्धुरामा अनावश्यक हस्तक्षेप गरेपछि सातौं जिल्ला अधिवेशनको पूर्वसन्ध्यामा आयोजित जिल्ला कार्यसमितिको बैठकमा दुई पक्षबीच विवाद भएको छ ।
दिउँसो कांग्रेस डडेल्धुराको कार्यालय किसुनजी भवनमा आयोजित बैठकमा केन्द्रबाट तोकिएका निर्वाचन अधिकृतले केन्द्रले सार्वजनिक गरेको सदस्यता विवरणका आधारमा निर्वाचनमा जाने प्रस्ताव राखेपछि विवाद उत्पन्न भएको हो ।
क्रियाशील सदस्यता विवादका क्रममा विवाद हुन थालेपछि बिहानैदेखि पार्टी कार्यालयमा तैनाथ प्रहरीले हस्तक्षेप गरेको थियो । कांग्रेस डडेल्धुराले पत्रकार सम्मेलन गर्दै वडातहदेखि प्रकृयागत ढंगले पठाइएका क्रियाशील सदस्यता थपघट गरी केन्द्रीय निर्वाचन समितिमार्फत नामावली सार्वजनिक भएको विषयमा उत्पन्न विवादले जिल्ला अधिवेशनका सम्पुर्ण प्रक्रिया स्थगन गरिएको जानकारी दिएको छ ।
क्रियाशील सदस्यता विवादका कारण गाउँ वस्तीसम्म मुडभेड हुनसक्ने अवस्थालाई मध्यनजर गरेर प्रक्रियागत रुपमा क्रियाशील सदस्यता वितरण गरिनुपर्ने कांग्रेस डडेल्धुराका सभापति कर्णबहादुर मल्लले बताए ।
उनले जिल्ला कार्यसमितिसँग समन्वय गरेर अधिवेशनको प्रक्रिया अघि बढाउनुपर्नेमा एकपक्षीय रुपमा जिल्ला निर्वाचन अधिकृतले निर्वाचनको कार्यतालिका सार्वजनिक गरिएकोमा भ्रत्सना योग्य काम भएको जिकिर गरे ।

जिल्ला कार्यसमितिले यथास्थितिमा गाउँपालिका/नगरपालिका वडा अधिवेशन आयोजना गर्न नसकिने निर्णय गरेको अवस्थामा निर्वाचन अधिकृत लोकेन्द्र बमले एक विज्ञप्ति जारी गर्दै यहि भदौं २५ गते वडा अधिवेशनको कार्यतालिका प्रकाशित गरेको जनाएका छन ।
जिल्ला कार्यसमितिसँग समन्वय नगरेर कार्यतालिका प्रकाशित गरिएकोले यो अवैधानिक हुने नेपाली कांग्रेस डडेल्धुराको सभापति पदका आंकक्षी अधिवक्ता हरिप्रसाद भट्टले बताए ।
गत आइतबार राति कांग्रेस डडेल्धुराको क्रियाशील सदस्यताको विवरण नेपाली कांग्रेसको आधिकारिक वेबसाइडबाट सार्वजनिक भएसँगै प्रधानमन्त्री देउवाको गृहजिल्लामा तिव्र असन्तुष्टी देखिएको छ । मुलुककै सबैभन्दा जेठो लोकतान्त्रिक दल मानिने कांग्रेसमा विधि र पद्धतिगत ढंगबाट क्रियाशील सदस्यता वितरण हुनुपर्नेमा अनावश्यक हस्तक्षेप भएको भन्दै जिल्लास्तरीय नेता कार्यकर्ताहरुले तिव्र असन्तुष्टी व्यक्त गरेका हुन् ।
कांग्रेस सभापति तथा प्रधानमन्त्री देउवाले गृहजिल्ला डडेल्धुरामा अघिसारेका जिल्ला सभापतिका उम्मेदवार भीमबहादुर साँउदलाई जिताउने अभिप्रायले वडा, पालिका, प्रदेशसभा क्षेत्र र जिल्ला कार्यसमिति गरेर चार तहबाट विधिवत् रुपमा पारित गरेर पठाएका क्रियाशील सदस्यहरुमध्ये चार सय ६० जनाको नाम हटाएर कुनै पनि प्रक्रिया नपुगाइएका तीन सय १२ जनाको नाम केन्द्रबाटै थपेर अन्तिम मतदाता नामावली सार्वजनिक गरिएको कांग्रेस डडेल्धुराका उपसभापति करुणाकर भट्टले बताए ।
उनले जिल्ला नेतृत्वका लागि उम्मेदवारदेखि मतदातासम्म केन्द्रबाटै पठाइएकाले अन्यौलता उत्पन्न भएको जिकिर गरे । केन्द्रीय कार्यालयको मनोमानी र अन्यायका विरुद्ध संघर्ष गरेर अघि बढ्ने जिल्लास्तरीय नेताहरु बताउँछन ।

लामो समयदेखि दुईवटा गुटमा रहेको नेपाली कांग्रेस डडेल्धुराको संस्थापन पक्षले पार्टीको केन्द्रीय कार्यालयबाट क्रियाशील सदस्यता वितरणमा धाँधली भएको आरोप लगाएको छ भने केन्द्रीय सभापति तथा प्रधानमन्त्री देउवाको संरक्षणमा रहेको अर्को समुहले केन्द्रले सार्वजनिक गरेको क्रियाशील सदस्यताका आधारमा वडा अधिवेशनमा जाने निर्णय गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया