सुदूरपश्चिम प्रदेश : राजीनामापछि द्वय मन्त्रीले दिए यस्तो प्रतिक्रिया

कैलाली । सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला मन्त्री र राज्यमन्त्रीले मंगलबार राजीनामा दिएका छन् । आर्थिक मामिला मन्त्री प्रकाशबहादुर शाह र आर्थिक मामिला राज्यमन्त्री अर्चना गहतराजले मुख्यमन्त्रीलाई राजीनामा बुझाएका हुन् ।

नेकपा एमाले विभाजन भई बनेको नेकपा एकीकृत समाजवादीमा सनाखत गर्ने प्रदेश सभा सदस्यहरुको संख्या बढेर एमाले चौथो दल भएपछि नेकपा एमाले संसदीय दलका नेता समेत रहेका आर्थिक मामिला मन्त्री शाह र राज्यमन्त्री गहतराजले मुख्यमन्त्री त्रिलोचन भट्टलाई राजीनामा पत्र बुझाएका हुन्।

राजीनामा पत्र बुझाएपछि सञ्चारकर्मीसंग कुराकानी गर्दै मन्त्री शाहले पार्टीको मूल्य मान्यता अनुसार एमाले पार्टीमै आफु रहेको बताए । उनले भने,‘सरकारले ल्याएको दल विभाजन सम्बन्धी अध्यादेशले बलियो रहेको एमाले पार्टीभित्र विभाजन ल्यायो ।’ उनले पार्टीभित्र अन्तरविरोध रहनु स्वभाविक रहेको बताए । उनले भने, ‘अन्तरविरोधबाट पार्टी विभाजन गराउनु उपयूक्त होइन ।’

शाहको नेतृत्वमा एमालेबाट प्रदेश सरकारमा मन्त्री भएका तीन मन्त्री र दुई राज्मन्त्रीले समेत समाजवादीमा सनाखत गरेका छन् । सनाखतपछि एमालेले नेतृत्व गरेको एक मात्रै आर्थिक मामिला मन्त्रालयमा रहिरहन उचित नदेखिएकाले पदबाट राजीनामा दिएको मन्त्री शाहले बताए ।

राजीनामा पत्र दिएर फर्केकी राज्यमन्त्री गहतराजले आफु कहिले पनि एस पार्टीमा सनाखत गर्ने पक्षमा नरहेको बताइन्। उनले भनिन्, ‘म डोटीमा कार्यक्रममा सहभागी हुन गएको थिए । तर, त्यहाँ मलाई अपहरण गरी डोटीमा राखेको आरोप लगाइयो । म कहिले पनि एस पार्टीमा सनाखत गर्छु भन्ने पक्षमा थिएन ।’ उनले आफु प्रदेश निर्वाचन आयोगमा पनि नगएको बताइन् ।

नेकपा एमालेको माधव नेपाल समूहमा रहेका आर्थिक मामिला मन्त्री प्रकाशबहादुर शाहले सोही समूहको नेतृत्व गर्दै गत जेठ १४ गते आर्थिक मामिला मन्त्री बनेका थिए । उनले २०७४ फागुनमा नेकपा एमालेको नेतृत्व गर्दै आन्तरिक मामिला तथा कानुन मन्त्री बनेका थिए ।

राज्यमन्त्री गहतराज पनि माधव समूहमै थिइन् । उनीहरुले गत जेठमै मुख्यमन्त्री त्रिलोचन भट्टलाई एमाले नेतृत्वले समर्थन फिर्ता लिन भनेपनि विश्वासको मत दिएका थिए ।

दल विभाजनसंगै माधव समूहमा रहेका पाँच जना प्रदेश सांसद् नेकपा एमालेमै रहने भएका छन् । ओली समूहमा छ जना मात्रै प्रदेश सभा सदस्य थिए । भौतिक पुर्वाधार विकास मन्त्री दीर्घबहादुर सोडारी, आन्तरिक मामिला तथा कानुन मन्त्री पुर्णा जोशी, सामाजिक विकास मन्त्री लालबहादुर खड्का, भौतिक पुर्वाधार विकास राज्यमन्त्री चुनकुमारी चौधरी, सामाजिक विकास राज्यमन्त्री मना साउँद, पुर्व उद्योग पर्यटन वन तथा वातावरणमन्त्री माया भट्ट, पुर्वराज्य मन्त्री प्रकाश रावल, एमाले संसदीय दलका पूर्व प्रमुख सचेत तारा लामा तामाङ, प्रमुख सचेतक दुर्गा विक लगायतका प्रदेश सभा सदस्यले एमाले छोडेर समाजवादीमा सनाखत गरेका छन् ।

नेकपा एमाले जितेको र समानुपातिक गरी २५ सांसद् रहेकोमा समाजवादीमा १४ जना प्रदेश सभा सदस्यले सनाखत गरेसंगै समाजवादी सुदूरपश्चिम प्रदेश सभामा सबै भन्दा ठूलो दल बनेको छ । दोस्रो ठूलो दल नेकपा माओवादी केन्द्रमा १३ जना सांसद् छन् । प्रदेश सभामा नेपाली कांग्रेस १२, नेकपा एमालेका १०, लोकतान्त्रिक समाजवादी पार्टीका एक र राष्ट्रिय समाजवादी पार्टीका एक सांसद् छन् ।

दल विभाजन अध्यादेशले सभामुखले दल रोज्न बाध्य नहुने व्यवस्था गरेकाले यसअघि माधव समूहमा रहेका सभामुख अर्जुनबहादुर थापा एमाले र समाजवादी दुबैमा खुलेका छैनन् । ५३ जना प्रदेश सभा सदस्य रहेको प्रदेश सभामा पूर्व आर्थिक मामिला मन्त्री झपटबहादुर बोहराले एमाले प्रवेश गरेपछि उनी पदमुक्त भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?