एमसीसीविरुद्ध विप्लव नेतृत्वले सार्वजनिक गर्‍यो संघर्षका कार्यक्रमहरु

लोकपथ
49
Shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी विप्लव नेतृत्वले अमेरिकी सहयोग परियोजना एमसीसीविरुद्ध भदौ २८ गते काठमाडौंमा बृहत जनसभासहित साताव्यापी सङ्घर्ष घोषणा गरेको छ ।

नेकपाको केन्द्रीय कार्यालयले मङ्गलबार बिहान दिएको जानकारीअनुसार भदौ २३ गते बुधबार देशव्यापी कोणसभा, २५ गते देशव्यापी विरोध प्रदर्शन, २६ गते राष्ट्रघाती एमसीसी सम्झौता जलाउने, २७ गते सिट्ठी जुलुस गर्ने र एमसीसीका विरुद्ध बेलुन उडाउने र भदौ २८ गते विरोध प्रदर्शनसहित काठमाडौँमा जनसभा आयोजना गरिनेछ ।

सरकारले यसै साता संसद्‌बाट एमसीसी पारित गर्ने षड्यन्त्र गर्दै राष्ट्रियतामाथि घात र वाक्स्वतन्त्रतामाथि प्रतिबन्ध लगाउने धम्की दिएपछि देशभक्त र क्रान्तिकारी शक्ति आन्दोलित बनेका छन् ।

यसै सन्दर्भमा नेकपाको अन्तर्राष्ट्रिय विभागले राष्ट्रघाती एमसीसी सम्झौताविरुद्ध आज अपराह्न काठमाडौंमा अन्तरक्रिया आयोजना गरेको छ । विभिन्न पार्टीका नेता र विश्लेषकहरूले राष्ट्रघाती एमसीसीविरुद्ध मन्तव्य दिने कार्यक्रम सार्वजनिक गरिएको छ ।

एमसीसीविरुद्ध नेकपा, पार्टीको अन्तर्राष्ट्रिय विभाग र केन्द्रीय जनपरिषद्ले विज्ञप्तिमार्फत आन्दोलन र कार्यक्रमहरू सार्वजनिक गरिसकेका छन् । नेकपाले लामो समयदेखि एमसीसीविरुद्ध देशव्यापी सङ्घर्ष गर्दै र जनचेतना जगाउँदै आएको छ । नेकपाका जनवर्गीय सङ्गठन र मोर्चाहरू लामो समयदेखि एमसीसीविरुद्ध सडकमा आन्दोलित छन् ।

एमसीसीविरुद्ध साताव्यापी सङ्घर्षका कार्यक्रम :

२३ गते बुधबार देशव्यापी कोणसभा

२५ गते देशव्यापी विरोध प्रदर्शन

२६ गते राष्ट्रघाती एमसीसी सम्झौता जलाउने

२७ गते सिट्ठी जुलुस गर्ने र एमसीसीका विरुद्ध बेलुन उडाउने

२८ गते विरोध प्रदर्शनसहित काठमाडौंमा जनसभा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?