मनसुन अझै दुई दिन सक्रिय हुने, यी स्थानमा भारी वर्षाको सम्भावना

RSS
494
Shares

काठमाडौं । अझै दुई दिन मनसुन सक्रिय हुने भएको छ ।

जल तथा मौसम विज्ञान विभागद्वारा मंगलवार जारी विशेष बुलेटिनका अनुसार उत्तर–पश्चिम बङ्गालको खाडीमा अवस्थित न्यून चापीय प्रणालीका कारण नेपालमा जलवाष्पयुक्त वायु प्रवेश भएसँगै आगामी दुई दिन मनसुनी गतिविधि बढ्न सक्ने सम्भावना छ ।

हाल देशभर सामान्यदेखि पूर्णतया बदली रही प्रदेश नं १, बाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ । दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावनाका साथै गण्डकी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका थोरै र प्रदेश नं १, बाग्मती तथा लुम्बिनी प्रदेशका एक–दुई स्थानमा मेघगर्जनसहित भारी वर्षाको सम्भावना रहेको छ ।

राति देशभर सामान्य बदली र गण्डकी, लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिमका धेरै र बाँकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले बताएको छ ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार मंगलवार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १८ दशमलव ८ डिग्री र अधिकतम तापक्रम २९ दशमलव ५ डिग्री सेल्सियस रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?