तीज नजिकिँदै गर्दा बढ्न थाल्यो सुन बजारमा रौनक : व्यवसायी भन्छन्- ‘सुन कम भयो’

नेपाली नारीहरूको महान चाड तीज नजिकिएसँगै सुन बजारमा रौनक छाएको छ।

अहिले बजारमा सुन किन्नेको चहलपहल बढेको छ । हरेक वर्षको तीज, दशैँ, तिहारलगायतका चाडबाडमा ५० देखि ६० केजीको हाराहारीमा सुनको बिक्री हुने गर्छ । नेपालमा विभिन्न वाणिज्य बैंकमार्फत दैनिक २० किलो सुन आयात गर्न पाउने व्यवस्था गरी सरकारले कोटा निर्धारण गरेको छ । तर नेपाली बजारमा सुनको माग त्योभन्दा बढी छ ।

सरकारले सुनको आयात कम गर्ने तर बजारमा माग बढी हुँदा बजारमा सुनको हाहाकार भएको छ । पछिल्लो समय कोरोनाका कारण सुनको खरिदबिक्री घटे पनि सामान्य अवस्थामा बजारमा दैनिक ३० देखि ३५ किलोको सुनको माग हुन्छ ।

यस अवस्थामा वाणिज्य बैंकले ल्याउने सुनले बजार माग धान्न सक्ने देखिँदैन । अहिले कोरोनाका कारण आम मानिसको आम्दानी घटेकाले सुनको खपत केही कम भएको छ । तर अन्य सामान्य अवस्थामा दैनिक ३० देखि ३५ किलो र चाडबाड तथा विवाहको लगनका बेला ५० देखि ६० किलोको हाराहारीमा नेपाली बजारमा सुनको खपत हुन्छ । तर सुन आयातको अवस्था हेर्ने हो भने कहिल्यै बजार धानेको देखिँदैन ।

अहिले २५ केजीको हाराहारीमा मात्रै सुनको कारोबार भएको छ । अघिल्लो वर्षदेखि सुरु भएको कोरोना भाइरसका कारण थला परेको सुन बजारमा अहिले केही सुधार आएको हो । त्यसैले बजारमा चहलपहल बढेको देखिएको हो ।

अघिल्ला वर्षहरूमा तीजमा निकै राम्रो कारोबार हुने गरेको भए पनि यसपाली कोरोनाका कारण बजारमा उत्साह आउन नसकेको सुनचाँदी व्यवसायी महासंघका संस्थापक अध्यक्ष तथा विशिष्ट सदस्य मणिरत्न शाक्यले बताए ।

पहिलेको जस्तो कारोबारमा उत्साह नभएको भए पनि केही सुधार भने आएको छ । भदौ सुरु भएपछि दैनिक सुन बजारमा चहलपहल बढेको छ । यो वर्ष निषेधाज्ञा हटेसँगै सुन बजारमा केही मात्रामा भए पनि रौनक बढेको छ ।

अहिले बैंकमा सुनको स्टक पनि कम भएको तथा बजारमा माग बढी भएकाले बजारमा सुनको अभाव देखिएको शाक्यले बताए । अहिले बजारमा पर्याप्त सुन नहुँदा साढे तीन हजार रुपैयाँसम्म बढी मूल्य तिरेर पुरानो मूल्यमै उपलब्ध गराउनु परेको शाक्यले बताए । ‘अहिले ब्ल्याकमा सुन किनेर पुरानै मूल्यमा बिक्री गर्नुपरेको छ’, शाक्यले भने ।

एकातिर बैंकमा सुनको स्टक कम हुनु र अर्कातिर बजारमा माग बढी भएका कारण सुन खोसाखोस भएको व्यवसायीको भनाइ छ ।

त्यस्तै, कोरोनाका कारण दुबईमा नियमित उडान नहुँदा पनि सुन आयात प्रभावित हुँदा नेपाली बजारमा सुन अभाव देखिएको हो । नेपाल बैंकर्स संघका अनुसार अहिले स्टकमा १ सय ३७ केजी सुन मात्रै छ ।

चाडबाडका बेला सुनको बढी खपत हुने भन्दै सुनचाँदी व्यवसायी महासंघले सुनको कोटा बढाउन माग गर्दै आएको छ । दैनिक २० किलोको कोटाले सुनको माग धान्न नसकेपछि व्यवसायीले पटक–पटक नेपाल राष्ट्र बैंकसँग सुनको कोटा बढाउन माग गर्दै आएका छन् । तर राष्ट्र बैंकले भने कोटा बढाउने विषयमा चासो देखाएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?