मिथिलाञ्चलमा कुश उखेल्ने कर्म सम्पन्न

लोकपथ
91
Shares

जनकपुरधाम । मिथिलाञ्चलमा आज अमावस्या तिथिका दिन कुश उत्पादन (उखेल्ने) कर्म सम्पन्न भएको छ ।

कुश एक प्रकारको तृण हो । यसको अग्रभागमा अर्थात् टुप्पोमा भगवान् रुद्र, मध्य भागमा भगवान् केशव तथा जरा भागमा ब्रह्माको निवास मानिएकाले यसलाई अति पवित्र वनस्पति ठानिन्छ ।

कुशलाई घरमा राख्नाले घर पवित्र रहने विश्वास पाइन्छ । मिथिलाञ्चलमा यसको उपयोग प्रत्येक देव पितृ अनुष्ठान र कर्मका अवसरमा गरिन्छ । पण्डित गणेश झाका अनुसार प्रत्येक महिनाको अमावस्या तिथिका दिन उत्पादन गरिएको कुशको मान्यता एक महिनाभरि मात्र हुने गरेको तर भदौ कृष्णपक्षको अमावस्या तिथिका दिन उत्पादन गरिएको कुशको मान्यता वर्षभरिका लागि हुने गर्दछ ।

मिथिलाञ्चलमा पिता जीवित हुनेले कुश उत्पादन गर्न नहुने चलन रहेको छ । पिताको देहान्त भएकाले आजकै दिन कुश उखेल्ने गर्दछन् । यसका लागि बिहान नित्यकर्मबाट निवृत्त भई कुश उखेल्न खुर्पी र लाठी लिएर गाउँभन्दा बाहिर जाने गरिन्छ, जसलाई चौँरी, सरेह र बाध भनिन्छ ।

कुश उब्जिने स्थान प्रायः बञ्जर भूमि हुने हुनाले यस्तो क्षेत्रलाई ऊसर पनि भनिन्छ । कुश उखेल्ने कर्म गर्दा मन्त्रविशेषको उच्चारण गरिन्छ जसमा देव पितृ कार्यका लागि पृथ्वीमातासित कुशको याचना गरिएको भाव व्यक्त गरिएका हुन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?