१५ सय वर्षका सिद्धपुरुष जसलाई अझै जीवित मानिन्छ (भिडियोसहित)

भारतको काशीस्थित मणिकर्णिका घाटमा एउटा चैत्य बनाउने निर्णय भयो । राजारानीको इच्छाअनुसार त्यहाँ आकर्षक चैत्य स्थापना गरियो ।

चैत्य त बनाइयो तर अब प्राण प्रतिष्ठा कोबाट गराउने भन्ने विषयमा दरबार र भाइभारदारहरूबीच निकै छलफल भए । अन्ततः भाइभारदारहरूले सुवर्ण प्रणाली महानगरको माथिल्लो क्षेत्र स्वाथाबाहाः (हाल क्वा बहा)मा बस्ने एक सिद्धपुरुषबाट प्राण प्रतिष्ठा गराउन सल्लाह दिए ।

उनी आफ्नो तान्त्रिक शक्तिमार्फत भारतको काशी मणिकर्णिकामा दिनदिनै बिहान स्नान गरी मामकी देवीको आराधना गरी आफ्नै महाविहार फर्की पूजापाठ र ध्यान गर्थे । त्यसै कारण भारदारहरूले उनी चैत्यमा प्राण प्रतिष्ठा गर्न सल्लाह दिएका थिए ।

त्यसका लागि दरबारले पूजाको भव्य तयारी गरे । अनि काठमाडौंका ती सिद्धपुरुषलाई मनिकर्णिकामा बोलाइयो । उनी पनि त्यहाँ पुगे ।

प्राण प्रतिष्ठाका लागि भव्य तयारी थियो । पूजापाठदेखि खानपिनसम्मका ठूलो जोरजाम थियो । तर उनले कुनै पनि पूजा सामग्री नचलाइकनै प्राण प्रतिष्ठा भएको बताए । उनले ध्यानदृष्टिबाट मात्रै प्राण भरे । त्यसका लागि उनले ५ प्रकारको अक्षता र १०८ मन्त्र फुकेर प्राण प्रतिष्ठा गरे । उनले काम सम्पन्न भएको सूचना राजपरिवारलाई दिए ।

तर उनको कार्यशैली राजदरबारलाई चित्तबुझ्दो भने लागेन । दरबारको प्रश्न थियो, पूजा सामग्री नछोइकनै, नचढाइकनै कसरी प्राण प्रतिष्ठा भयो त ? यसरी दरबारले उनीमाथि हेयभावले हेर्‍यो ।
यो घटनापछि ती सिद्धपुरुषको मन नराम्रोसँग दुख्यो ।

समय बित्दै गयो । कालान्तरमा एक दिन फेरि दरबारमा चैत्यको विषयमा चर्चा भयो । मनिकर्णिका घाट जहाँ भूत, प्रेत, पिसाच बस्ने ठाउँ मानिन्छ । दरबारमा यही विषयमा गहन छलफल भयो । भूत, प्रेत, पिसाच बस्ने ठाउँमा चैत्य राख्न नहुने निष्कर्षमा पुग्यो राजपरिवार । त्यसकारण चैत्यलाई अन्यत्र सार्ने निणर्य भयो । चैत्य सार्ने निर्णय त भयो तर कसले सार्ने भन्ने विषय आयो ।

त्यसमाथि छलफल हुँदा फेरि पनि काठमाडौंकै ती सिद्ध पुरुषसँग सल्लाह लिने कुरा चल्यो । भाइभारदारको प्रस्ताव स्वीकार गर्दै ती सिद्धपुरुषले हात्ती, घोडालगायतका जनावरको प्रयोग गरी चैत्य अन्यत्र सार्दा कुनै पनि दोष नआउने सल्लाह दिए ।

उनको सल्लाहबमोजिम नै चैत्य सार्नका लागि हात्ती, घोडालगायतको जनावर प्रयोग गरियो । चैत्य सार्न प्रयोग गरिएका हात्ती, घोडालगायत एकपछि अर्को गर्दै थकित भए, अनि ढले । मुर्छित बने । दिउँसै अन्धकार भयो । चराचुरुंगीहरू चिरबिराए । अनर्थ हुन लागेको आभास भयो । सबैतिर विचलित अवस्था सिर्जना भयो ।

यस्तो किन भयो भनेर त्रसित राजपरिवारले फेरि तिनै सिद्धपुरुषसँग सल्लाह माग्यो र उनैलाई चैत्य अन्यत्र सारिदिन आग्रह गर्‍यो । उनले पनि दरबारको आग्रह सर्तसहित स्वीकार गरे । उनको सर्त थियो, चैत्य त सार्ने तर मैले भनेकै ठाउँ लैजान पाउनुपर्छ भने । दरबारले पनि ‘तिमी जे गर्छौ, गर’ भनेर स्वीकृति दियो ।

त्यसपछि उनले पाँच रङको धागोले चैत्यमा बाँडेर पाँच अक्षताले १०८ मन्त्र फुकेर तन्त्र साधनामार्फत ल्याए । उक्त चैत्यलाई आकाशमार्गबाट नेपालको पवित्र स्थान नघलस्थित शान्तिघाटमा ल्याई प्रतिस्थापन गरेको कुरा दुर्लभ बौद्ध ग्रन्थ शोध योजना केन्द्रीय उच्च तिब्बती शिक्षाको पुस्तकमा समेत प्रकाशित छ ।

यसलाई सानो स्वयम्भू पनि भनिन्छ । यस महाविहारमा कुनै पनि धार्मिक पूजापाठ गर्न र चैत्यको जिणर्ोद्धार गर्न न्यास पूजाका लागि हालसम्म पनि मैत्रीपुरा महाविहारका गुरुजुहरूबाट नै काम गरिँदै आएका छन् ।

उनी तिनै व्यक्ति हुन् जो काठमाडौंका चार सिद्धपुरुषमध्येका एक मानिन्छ । उनी हुन्, वाकबज्र बज्राचार्य । अन्य तीन सिद्धपुरुष हुन्, सुरजबज्र बज्राचार्य, मन्जुश्री बज्राचार्य र लिलाबज्र बज्राचार्य ।

वाकबज्र बज्राचार्य, भारतको कामाक्षकामरुबाट रातो मछिन्द्रनाथ नेपाल ल्याएका तान्त्रिक गुरु बन्धुदत्त आचार्यका शिष्य मानिन्छन् । काठमाडौंका १८ महाविहारमध्ये प्रमुख मानिने मैत्रीपूर महाविहार उनैले स्थापना गरेका हुन् । जुन सुवर्ण प्रणाली महानगर माथिल्लो क्षेत्र स्वाथाबाहाः (हाल क्वा बहा)मा अवस्थित छ ।

वाकबज्र बज्राचार्यलाई नरेन्द्र देवको समकालीन मानिदै आएको छ । स्थबिर वाकबज्र एक चर्या रचनाकार, गायक र संगीतकार पनि थिए । उनले रचना गरेको चर्या हालसम्म पनि पूजा हुँदा हरेक महाविहारमा गाउँदै आइरहेका छन् । उनले बज्रयान सम्बन्धी बौद्धधर्मका धार्मिक ग्रन्थहरू लेखेका छन् ।

अझै मानिन्छन् जीवित

मैत्रीपुर महाविहारको दायाँ पट्टी एउटा यस्तो कोठा छ जहाँ के छ कसैलाई थाहा छैन । किनकि त्यहाँ झ्याल ढोका केही पनि छैन । चारैतिर पर्खाल लगाइएका छन् । ध्यान कोठामा हेर्ने भनेर सांकेतिक झ्याल मात्रै बनाइएका छन् तर केही देखिँदैन । आखिर किन त ?

‘वाकबज्र बज्राचार्यले मैत्रीपुर महाविहार बनाउन लगाए, त्यसको दायाँ कोठामा आफू ध्यान गर्न बसे, चारैतिर झ्याल ढोका नराखी पर्खाल लगाउन लगाए । अनि ध्यान गर्दागर्दै अन्तरध्यान भए’, मैत्रीपुर महाविहार विकास समितिका सचिव राजकाजी बज्राचार्यले सुनाए ।

यो ध्यानगृहमा कोही पनि भित्र नपसेको र पस्न नमिल्ने बज्राचार्य बताउँछन् । वाकबज्र बज्राचार्यलाई अझै पनि जीवित नै मानिन्छ । त्यसो त उनलाई अझै पनि पिण्डदान दिइएको छैन । ‘यसको अर्थ वाकबज्र बज्राचार्य अझै पनि जीवित नै छन् भन्ने हो’, उनी भन्छन् ।

यो महाविहारमा सातवटा आँगनघर छन् । ती घरहरूमा छुट्टाछट्टै खालमा मूर्तिहरू छन् । जसलाई रहस्यमय मानिन्छ । यस महाविहारको मुख्य मन्दिरमा जो-कोही पस्न मनाही छ । यो विशेषतः बज्राचार्य समुदायको विहार हो । तर बज्राचार्य वा कुलपुत्र हुँदैमा यहाँभित्र पसेर पूजा गर्न मिल्दैन । त्यसका लागि आफ्नो पालो आउनुपर्छ, र त्योभन्दा पनि महत्वपूर्ण कुरा उक्त व्यक्तिले चुडाकर्म गरेको हुनुपर्छ ।

चुडाकर्म सकेर महाविहारका मन्दिरहरूमा सुपारी चढाएपछि मात्रै भित्र पसेर पूजा गर्न अनुमति मिल्ने बज्राचार्य बताउँछन् । सातवटा आँगनमा पूजा गर्ने तरिका मात्रै फरक छैन यो रहस्यात्मक पनि हुन्छ ।

विगतमा यहाँ पूजा गर्नका लागि एक जनाले एक महिनासम्म पूजा गर्नेगरी पालो मिलाइन्थ्यो । तर अहिलेको नयाँ कार्यसमितिले एक जनाले एक साता मात्रै पूजा गर्नेगरी मिलाइएको छ । ‘पहिले त जीवनभरमा बढीमा दुई चोटी पालो आउँथ्यो अहिलेचाँहि डेढ/दुई वर्षमा पालो आउँछ’, बज्राचार्यले भने ।

यस विहारमा रहेको मूर्तिलाई पुर्खाहरूले दिपंकर बुद्ध भन्दै आएका छन् तर बज्राचार्यलाई भने यहाँ भएको मूर्ति बोधीसत्वझैँ लाग्छ रे ।
मैत्रीपुर महाविहारमा अहिले धमाधम पुनःर्निर्माणको काम भइरहेको छ । पुनर्निर्माणका लागि बजेट अपुग भइरहेको बज्राचार्य बताउँछन् । ‘नगरपालिका, सांसदलगायतले दिएको सहयोगले नपुगेर हामीले चन्दा उठाएर पुनर्निर्माण गरिरहेका छौँ’, उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?