सुदूरपश्चिममा एमालेभन्दा ठुलो दल बन्यो नेकपा एकीकृत समाजवादी

लोकपथ
338
Shares

कैलाली । एमालेबाट फुटेर बनेको नेकपा एकीकृत समाजवादी सुदूरपश्चिममा प्रदेशमा सबैभन्दा ठूलो दल बनेको छ । सोमबार सुदूरपश्चिम प्रदेशमा नेकपा एकीकृत समाजवादी पार्टीको पक्षमा थप १ जना सांसदले सनाखत गरेपछि समाजवादी एमालेभन्दा ठूलो दल बनेको हो ।

क्षेत्रीय निर्वाचन कार्यालय धनगढीमा एमाले परित्याग गरी नेकपा एकीकृत समाजवादीमा प्रदेश सांसद माया तमाङले सनाखत गरेकी हुन् । त्यस्तै आइतबार तीन जना प्रदेश सांसदले एकीकृत समाजवादीको पक्षको सनाखत गरेका थिए । आइतबार सनाखत गर्नेमा पूर्वएमाले प्रमुख सचेतक तारा लामा तामाङ, भौतिक पूर्वाधारमन्त्री दीर्घ सोडारी र पूर्वउद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री प्रकाश रावल थिए ।

योसँगै नेकपा एकीकृत समाजवादीमा सनाखत गर्नेको संख्या १४ पुगेको निर्वाचन कार्यालयका प्रमुख प्रेमराज भट्टले बताए ।

यसअघि सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री रहेकी पूर्णा जोशी, सामाजिक विकासमन्त्री लालबहादुर खड्का, भौतिक पूर्वाधार राज्यमन्त्री चुनकुमारी चौधरी, सामाजिक विकास राज्यमन्त्री मना साउद, पूर्वउद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री माया भट्ट, सांसद बलबहादुर सोडारी, अमर साउद, कुलवीर चौधरी, सुशीला बुढाथोकी र एमाले प्रमुख सचेतक दुर्गा कामीले नेकपा एकीकृत समाजवादीको पक्षमा सनाखत गरिसकेका छन् ।

सुदूरपश्चिम प्रदेशमा नवगठित एकीकृत समाजवादीमा जनप्रतिनिधिको सनाखत गर्ने क्रम बढ्दै गएको छ । निर्वाचन आयोगले एमालेबाट निर्वाचित प्रदेशसभा र स्थानीय जनप्रतिनिधिलाई एमाले वा एकीकृत समाजवादी रोज्न २२ भदौसम्मको समय दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?