गेटा विमानस्थलको आम्दानीमा ह्रास

धनगढी । सुदूरपश्चिम प्रदेशको एक मात्र प्रादेशिक स्तरको विमानस्थलका रूपमा रहेको गेटा विमानस्थलको आम्दानीमा वर्षेनी ह्रास आइरहेको छ । तथ्यांकअनुसार दुई वर्षदेखि गेटा विमानस्थलको आम्दानीमा गिरावट आएको हो ।

सो विमानस्थल आर्थिक वर्ष २०७३/७४ देखि नाफामा सञ्चालन भइरहेकोमा अघिल्लो आर्थिक वर्ष २०७६/७७ देखि आम्दानीमा ह्रास आउन थालेको बताइएको छ ।

‘कोरोना महामारी सुरु भएदेखि धनगढी विमानस्थलमा उडान भर्ने क्रममा कमी आयो’, गेटा विमानस्थल कार्यालय प्रमुख तेज बुडथापाले भने, ‘हवाइजहाजहरूले उडान नै भर्न नपाएपछि विमानस्थलको आम्दानी कम हुनु स्वाभाविक हो ।

उनले कोरोना महामारीको रोकथाम तथा नियन्त्रणका लागि गरिएको लकडाउन, निषेधाज्ञाले विमानस्थलको आम्दानीमा असर पु¥याएको बताए ।

विमानस्थल कार्यालय प्रमुख बुडथापाका अनुसार धनगढी विमानस्थलले सञ्चार तथा उड्डयन सहायक सेवा, अवतरण, पार्किङ, भूमि प्रबन्धलगायतका दुई दर्जन सेवाबाट शुल्क, भाडा, दस्तुर रोयल्टीलगायतको राजस्व संकलन गर्नेगरेको छ ।

आर्थिक वर्ष ०७५/७६ मा धनगढी विमानस्थलले दुई करोड ७६ लाख ९० हजार पाँच सय रुपैयाँ आम्दानी गरेको थियो । सो आर्थिक वर्षको विमानस्थलको सञ्चालन खर्च दुई करोड १५ लाख ४८ हजार तीन सय रुपैयाँ रहेको थियो ।

अघिल्लो आर्थिक वर्ष २०७६/७७ मा सा विमानस्थलको आम्दानी घटेर दुई करोड १० लाख २० हजार नौ सय १८ रुपैयाँ रहेको थियो । सो आर्थिक वर्षमा विमानस्थलको सञ्चालन खर्च एक करोड ४१ लाख ९६ हजार रुपैयाँ रहेको थियो ।

गत आर्थिक वर्ष २०७७/७७ मा धनगढी (गेटा) विमानस्थलको आम्दानी दुई करोड सात लाख रहेकोमा एक करोड २३ लाख ५५ हजार रुपैयाँ सञ्चालन खर्च रहेको थियो ।

अहिले गेटा विमानस्थलमा बुद्ध, श्री र समिट एयरलाइन्सले उडान भरिरहेका छन् । विमानस्थल प्रमुख बुडथापाका अनुसार धनगढी–काठमाडौं रुटमा दैनिक छवटा उडान हुनेगरेका छन्् भने सुदूरपश्चिम प्रदेशका चारवटा पहाडी जिल्लाका लागि समिट एयरलाइन्सले उडान भरिरहेको छ ।

‘अहिले मानिसहरूको रोजाइ सडक यातायातभन्दा हवाइ यातायात नै पर्ने गरेको छ’, विमानस्थल प्रमुख बुडथापाले भने, ‘अहिले उडान नियमित रूपमा हुन थालेपछि हवाई यात्रा गर्नेहरूको संख्यामा वृद्धि भइरहेको छ ।’

धनगढी विमानस्थलले प्रतियात्रु सेवा शुल्क दुई सय रुपैयाँ, तोकेको समयभन्दा पछि प्रदान गरिएको सेवाबापत प्रतिविमान तीन हजार रुपैयाँ शुल्क लिँदै आएको छ । त्यस्तै, विमान अवतरण, पार्किङलगायत अन्य सेवाबाट पनि विमानस्थलले शुल्क लिँदै आएको छ ।

‘धनगढी विमानस्थलबाट दैनिक सरदर छ सय बढी यात्रु ओहोरदोहोर गरिरहेका छन्’, धनगढी विमानस्थलका प्रमुख बुडथापाले भने, २०७३ साल अघिसम्म दुईवटा विमानले मात्र उडान भर्दा यस क्षेत्रका यात्रुहरू काठमाडौं जानका लागि सडकमार्ग वा नेपालगञ्ज विमानस्थलको प्रयोग गर्नुपर्ने अवस्था रहेको थियो ।’

विमान थपिँदै

छ वर्ष (विसं २०७३) अघि धनगढी–काठमाडौं–धनगढी रुटमा दैनिक दुई वटा एयरलाइन्सले हवाई उडान गरेका थिए । धनगढी विमानस्थलबाट साताको तीन दिन नेपाल एयरलाइन्स र बुद्ध एयरले उडान भरिरहेका थिए । २०७४ साउन २७ देखि श्री एयरलाइन्सले काठमाडौं–धनगढी–काठमाडौं हवाई उडान सुरु गरेको थियो । सोही वर्ष भदौ १६ देखि उडान सुरु गरेको सौर्य एयरलाइन्सले २०७५ वैशाख १८ देखि उडान बन्द गरेको थियो ।

प्रदेशको पहाडी जिल्लामा पनि आर्थिक वर्ष २०७६÷७७ मा समिट एयरलाइन्सले उडान सुरु गरेको छ ।
सुदूरपश्चिम प्रदेशमा हाल कैलालीको धनगढी, अछामको साँफेबगर, डोटी, बझाङ र बाजुराको कोल्टी विमानस्थल सञ्चालनमा रहेका छन्् । तर, यस प्रदेशको नाफामा रहेको विमानस्थल धनगढी विमानस्थल मात्रै हो ।

सुदूरपश्चिम प्रदेशको सात जिल्लामा एक/एक विमानस्थल र कैलालीमा धनगढी र टीकापुर तथा अछाममा साँफेबगर र कमलबजार विमानस्थल रहेका छन् ।

सडकमा खाल्डाखुल्डी

गेटा विमानस्थलसम्म जाने सडक ठाउँ–ठाउँमा बिग्रेको छ । सो सडकखण्ड निर्माण भएदेखि अहिलेसम्म मर्मतसम्भार गरिएको छैन । गेटा एयरपोर्ट सडकखण्ड सात वर्षअघि कालोपत्रे भएको थियो ।

स्थानीयहरू सो सडक मर्मतसम्भारका लागि कसैले पनि चासो नदिएको बताउँछन् । स्थानीय पुष्पराज पन्तले भने, यो सडक बनेदेखि अहिलेसम्म कसैले पनि मर्मतसम्भार गरेको थाहा छैन मलाई ।’

मोहनपुरदेखि गेटा विमानस्थलसम्मको दुई दशमलव एक किलोमिटर कालोपत्रे सडक खण्ड जीर्ण बन्नै लाग्दा पनि कसैले आवाज नउठाएको बताउँदै उनले भने, ‘यो सडकको अवस्थाका बारेमा सबै जानकार छन््, तर पनि कसैले आवाज उठाउँदैन ।’

एयरपोर्ट सडकको अवस्था दयनीय भएको बताउँदै धनगढी उपमहानगरपालिकाका इन्जिनियर दीजराज भट्टले भने, ‘मोहनपुर–एयरपोर्ट सडक निर्माण डिभिजन कार्यालय महेन्द्रनगरले गरेको हो, मर्मत सम्भार पनि उसैको जिम्मा थियो’, उपमहानगरपालिकाले सडक डिभिजन कार्यालयलाई मर्मतका लागि पत्राचार पनि गरेको जानकारी दिए । उनले भने, ‘सडक मर्मत सम्भार गरिदिन भनेर हामीले डिभिजन कार्यालय महेन्द्रनगरलाई पत्राचार ग-यौँ, तर उसले मर्मतका लागि हामीसँग बजेट छैन भनेपछि रोकिएको हो ।’

सडक संघीय सरकार वा प्रदेश सरकारले जिम्मा नलिए स्थानीय सरकारले लिने बताउँदै उनले भने, ‘हामीलाई आधिकारिक रूपमा जिम्मा लिन भनेपछि हामी लिन्थ्यौँ, तर कसले जिम्मा लिने भन्ने अहिलेसम्म टुंगो लगाइएको छैन ।’

सडकको अवस्था दयनीय भए पनि मर्मतसम्भारका लागि प्रदेश सरकारसँग पटक–पटक आग्रह गर्दा पनि प्रदेश सरकारले नसुनेको धनगढी उपमहानगरपालिकाका नगरप्रमुख नृपबहादुर वडले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?