सेयर बजार घटेपछि लगानीकर्ताको आक्रोश, गभर्नरको राजीनामा माग

लोकपथ
455
Shares

काठमाडौं । सेयर धितो कर्जामा नेपाल राष्ट्र बैंकले तोकेको सीमाका कारण सेयर बजार भारी गिरावट देखिएको छ । सेयर बजारमा गिरावट आएसँगै लगानीकर्ताहरु विरोधमा उत्रिएका छन् ।

नेपाल राष्ट्र बैंकले गत भदौ ८ गते मौद्रिक नीति, २०७८ र एकीकृत निर्देशिका जारी गर्दै सेयर धितो कर्जाको सीमालाई १२ करोडमा सिमित गरेको थियो । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीति, २०७८ र एकीकृत निर्देशिका सार्वजनिक गर्दै सेयर धितोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जामा एक व्यक्ति वा संस्थाले एक वित्तीय संस्थाबाट अधिकतम ४ करोड रूपैयाँ र समग्र वित्तीय प्रणालीबाट अधिकतम १२ करोड रूपैयाँसम्म मात्र लिन सक्ने व्यवस्था गरेका थिए । यो सँगै सेयर बजार निरन्तर आरालो लागिरहेको छ।

बजार निरन्तर ओरालो लागेसँगै लगानीकर्ताहरुले गभर्नरको पदमाथि नै प्रश्नचिन्ह उठाएका छन् ।

नेपाल राष्ट्र बैंकबाट पुँजी बजारको अस्तित्व नै धरापमा पार्ने गरि विभिन्न समयमा नियोजित रुपमा तयार गरिएका नीति कार्यक्रममा र कार्यनीतिहरुले समग्र पुँजीबजार अगाडि बढ्न नसकेको भन्दै गभर्नर अधिकारीको राजिमाना माग गरेका छन् ।

पुँजी बजार सुधार संघर्ष समितिले सार्वजनिक विज्ञाप्ती जारी गर्दै राष्ट्र बैंकले विभिन्न समयमा पुँजी बजारको अस्तित्व नै धरापमा पार्ने नीति कार्यक्रमहरु ल्याएकोले हुँदा समग्र पुँजी बजार अघि बढ्न नसकेको भन्दै गभर्नरको यथाशिघ्र राजिनामाको मागसहित १६ बुँदे माग गरका छन् ।

लगानीकर्ताहरुको समुहले विभिन्न १६ बुँदे माग राख्दै राष्ट्र बैंकका साथै अर्थमन्त्रालय, धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेञ्जलाई समेत पत्राचार गरेका हुन् ।

यसअघि पनि नेपाल इन्भेष्टर्स फाेरमका लगानीकर्ताहरू सेयर धितो कर्जाको सीमा खारेजीकाे माग गर्दै अर्थ मन्त्रालय पुगेका थिए । उनीहरूले राष्ट्र बैंककाे नीतिका कारण सेयर बजारमा पर्न सक्ने दीर्घकालिन असरबाट सेयर बजारलाई जाेगाउन र सम्पूर्ण लगानीकर्ताहरूलाई लगानीकाे वातावरण बनाउन सेयर धितो कर्जाको सीमा तत्काल खारेजीकाे माग गरेका थिए ।

राष्ट्र बैंकले सेयर धितो कर्जामा मौद्रिक नीतिमार्फत लागेको सीमा संसोधन नहुने बताएको छ । राष्ट्र बैंकले केही ठूला खेलाडीहरुले सेयर धितो कर्जामा लागेको सीमा संसोधन हुने हल्ला चलाए पनि सो व्यवस्था तत्काल संसोधन नहुने बताएको हो ।

शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत सेयर धितो कर्जामा लगाइएको सीमाले औद्योगिक र व्यावसायिक प्रयोजनका लागि लिइने सेयर धितो कर्जा प्रभावित नहुने बताउँदै सो व्यवस्था कायमै रहने बताएका हुन् ।

राष्ट्र बैंक र गभर्नरले दिएको यो अभिव्यक्तिसँगै नेपाली सेयर बजारमा झनै समस्या चुलिएको छ । आज (आइतबार) सेयर बजारमा इतिहासकै सबैभन्दा ठूलो गिरावट आएको छ । आज सेयर बजारमा नकारात्मक सर्किट लागेको छ । भने ४० मिनेटको लागि कारोबार समेत स्थगित भएको थियो । आज सेयर कारोबार मापक नेप्से परिसूचक १४७.६८ अंकले घटेको थियो । ४० मिनेटपछि खुलेको बजार केहि बढे पनि ओरोलो यात्रामै छ ।

बजारमा निरन्तर गिरावट आएपछि लगानीकर्ताहरु आक्रोशित हुँदै गभर्नर राजिनामा माग गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?