खोटाङका ७७ वडामा कांग्रेस अधिवेशन टुंगियो, २ वडाको बाँकी

लोकपथ
182
Shares

खोटाङ । खोटाङका ७७ वडामा नेपाली कांग्रेसको अधिवेशन टुंगिएको छ । नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तरगत जिल्लाका ७९ वडामध्ये ७७ वडाको अधिवेशन टुंगिएको हो ।

७० वडामा सर्वसहमत र ७ वडामा निर्वाचनका माध्यमबाट नेतृत्व चयन भएको कांग्रेस खोटाङका सचिव ज्ञानेन्द्र जोशीले बताए । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाँडाको अधिवेशन शुक्रवारदेखि स्थगित छ ।

विवादका कारण दिप्रुङ चुईचुम्मा गाउँपालिकाको याम्खाको मत गणना शनिवार दिउँसोदेखि रोकिएको छ । निर्मलीडाँडा र याम्खा बाहेक अन्य वडाको अधिवेशन टुंग्याइसकिएको कांग्रेसले जनाएको छ ।

सहमती नजुट्दा दिप्रुङ चुईचुम्मा गाउँपालिकाको डाँडागाउँ र बतासे, जन्तेढुंगा गाउँपालिकाको चिसापानी र काहुले, केपीलासगढी गाउँपालिकाको बाक्सिला र सुंदेल तथा ऐसेलुखर्क गाउँपालिकाको बाकाचोलमा मतदानका माध्यमबाट वडा अधिवेशन टुंग्याइएको हो ।

खोटाङमा कांग्रेसका ६ हजार ८०० क्रियासिल सदस्यले वडा अधिवेशनमा सहभागीता जनाएका छन् । कांग्रेसको वडा अधिवेशबाट वडा सभापतिसहित २३ सदस्यीय वडा कार्य समिति र क्षेत्रीय प्रतिनिधि चयन गर्ने व्यवस्था छ । कांग्रेसको उपल्लो पदमा लड्नका लागि क्षेत्रीय प्रतिनिधि अनिवार्य चुनिनुपर्ने भएकाले क्षेत्रीय प्रतिनिधि चयनमा मारामार हुने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?