रोनाल्डोको नाम अब गिनिज बुकमा

काठमाडौं। पोर्चुगलका कप्तान तथा फुटबल सुपरस्टार क्रिस्टियानो रोनाल्डोले ‘गिनिज बुक अफ वर्ल्ड रेकर्ड्स’मा आफ्नो नाम लेखाएका छन्।

३६ वर्ष रोनाल्डोले अन्तराष्ट्रिय फुटबलमा सर्वाधिक गोलकर्ता भएर गिनिज बुकमा आफ्नो नाम लेखाउन सफल भएका हुन्। फिफा विश्वकप २०२२ छनोट खेल अन्तर्गत बिहीवार रोनाल्डोले आयरल्यान्डविरुद्ध दुई गोल गर्दै सो कीर्तिमान रचेका थिए।

उनले सो खेलमा आफ्नो अन्तराष्ट्रिय फुटबल करियरको ११०औं तथा १११औं गोल गर्दा ईरानका लेजेण्ड अली डाईको १०९ गोलको कीर्तिमान तोडेका थिए। यसै सरुवा बजारमा इटालियन क्लब युभेन्टसबाट आफ्नो पुरानो क्लब म्यानचेस्टर युनाइटेड फर्किएका रोनाल्डोले गिनिज बुकमा नाम लेखाएपछि सामाजिक सञ्जालमा खुशी व्यक्त गरेका छन्।

उनले आफ्नो इन्स्टाग्राममा गिनिज बुकलाई धन्यवाद समेत दिएका छन्। “विश्व किर्तिमान रचेर गिनिज बुकमा नाम लेखाउन पाउँदा खुशी लागेको छ, गोल संख्या अझै बढाउने छु”, उनले लेखेका थिए।

-एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?