प्रधानमन्त्री देउवाले चाहादैमा एमसीसी पास हुँदैन : राष्ट्रिय जनमोर्चा

लोकपथ
2.7k
Shares

काठमाडौं । राष्ट्रिय जनमोर्चाले प्रधानमन्त्री शेरबहादुर देउवाले चाहेर पनि मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पास गर्न नसक्ने बताएको छ ।

देउवा सरकार पाँच दलीय गठनबन्धनमा टिकेको हुनाले एक्लैले चाहादैमा एमसीसी पास नहुने राष्ट्रिय जनमोर्चाको ठहर रहेको छ ।

शुक्रवार धनगढीमा आयोजित पत्रकार सम्मलनमा बोल्दै राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टले प्रधानमन्त्री देउवा बाहेक गठबन्धनका अन्य नेताहरु एमसीसीको विरुद्धमा भएकोले एमसीसी पास हुन नसक्ने बताए । ‘यो (देउवा नेतृत्वको सरकार) पाँच दलीय गठबन्धनमा टिकेको छ’ उनले भने, ‘प्रधानमन्त्री देउवा बाहेक उनकै दल शिर्ष नेताहरु र गठबन्धनमा रहेका दलका प्रमुख तथा प्रभावशाली नेताहरु सबै यसको विरुद्धमा भएकोले यो पारित हुदैन ।’

उनले भारत लगायत विभिन्न विदेशी शक्तिहरु नेपालको गणतन्त्र, धर्मनिरपेक्षता र संविधान कमजोर पार्ने खेलमा रहेको आरोप लगाए । उनले भने, ‘त्यसैले पनि मुलुकभित्रका अग्रगमनकारी, गणतन्त्रवादी, लोकतन्त्रवादी शक्तिहरुबीच एकता र सहकार्य अनिवार्य भएको छ ।’

महासचिव भट्टले अहिलेको पाँच दलीय गठनबन्धन ओलीको नेतृत्वमा देशीविदेशी शक्तिहरुको प्रतिगमनकारी खेलको विरुद्ध बनेको दाबी पनि गरे । उनले भने, ‘यो गठबन्धन कमजोर भयो भने मुलुकमा फेरि पनि प्रतिगमनकारी शक्तिहरु बलिया हुनेछन् । त्यसैले यसलाई निरन्तरता दिनु जरुरी छ ।’

केन्द्रीय सदस्यसहित पाँच जना पार्टीबाट निष्काशित

राष्ट्रिय जनमोर्चाले पार्टी विरुद्ध गतिविधि गरेको आरोपमा एक केन्द्रीय सदस्य सहित पाँच जना नेताहरुलाई पार्टीको साधारण सदस्यबाट अनिश्चितकालका लागि निष्काशन गरेको छ ।

पछिल्लो पटक भेला आयोजना गरेर समानान्तर प्रदेश कमिटी गठन गरेका केन्द्रीय सदस्य लालबहादुर जाग्रीसहित पाँच जनालाई पार्टीको साधारण सदस्यबाट अनिश्चितकालका लागि निष्काशन गरिएको राष्ट्रिय जनमोर्चाले जनाएको छ ।

राष्ट्रिय जनमोर्चाका सुदूरपश्चिम प्रदेश अध्यक्ष नन्दराज भट्टका अनुसार केन्द्रीय सदस्य जाग्रीका साथै केन्द्रीय सल्लाहकार सदस्य लोकेन्द्र लम्साल तथा केन्द्रीय पार्षदहरु लक्षीराम आचार्य, केशवनाथ योगी र गोविन्द विकलाई सबै पदबाट हटाउनुका साथै सदस्यताबाट समेत निष्काशन गरिएको छ ।

पत्रकार सम्मेलनमा प्रदेश अध्यक्ष नन्दराज भट्टले पार्टीको बिहीवार (भदौ १७ गते) को केन्द्रीय समितिको बैठकले केन्द्रीय सदस्य जाग्रीसहित पाँच जनालाई निष्काशन गर्ने निर्णय गरेको जानकारी दिए ।

गत ८ र ९ गते केन्द्रीय सदस्य जाग्रीको अध्यक्षतामा भएको भेलाले लोकेन्द्र लम्सालको नेतृत्वमा छुट्टै प्रदेश समिति गठन गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?